काठमाडौँ - कला, संस्कृति र अनुपम प्रकृतिका कारण स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बन्दै गएको कास्कीको पर्यटकीय गाउँ सिक्लेस जाडो याममा हिउँ खेल्ने गन्तव्यका रूपमा पनि विकास हुने देखिएको छ।
जाडो याममा लगातर पानी परेसँगै हिउँ पनि पर्न थालेसँगै यस ठाउँलाई जाडोको याममा पोखराबाट नजिकै रहेको हिउँ खेल्ने गन्तव्यका रूपमा विकास गर्न सकिने देखिएको हो। गुरुङ कला संस्कृतिको जीवन्त सङ्ग्रहालय जस्तै बनेको सिक्लेसमा एक वर्षअघि हिउँ परेकोमा यस वर्ष पनि पुनः हिउँ परेको सिक्लेस युवा क्लबका पूर्व सचिव देवीजङग गुरुङले जानकारी दिए।
दुई दिनयता लगातारको चिसोसँगै बिहीबार साँझदेखि पानी पर्न थालेकोमा आज बिहानदेखि हिउँ परेको उनले जानकारी दिए। पोखराबाट नजिकै रहेका कारण यस ठाउँमा हिउँ परेसँगै आन्तरिक पर्यटक पोखराबाट पुग्ने गरेका छन्। समुद्री सतहबाट दुई हजार मिटर उचाइमा रहेको यो गाउँ लमजुङ हिमालको काखमा लुट्पुटिएको उल्लेख गर्दै उनले वरिपरिको हरियो वनजङ्गलका कारण सिक्लेसमा चरा र वन्यजन्तुप्रेमीलाई यो ठाउँले लोभ्याउने गरेको बताए। १५-२० दिनअघि गाउँमाथिको ऋषिङ डाँडासम्म हिउँ पर्दा हर्षित बनेका यहाँका स्थानीयवासी बिहानदेखि गाउँमा नै हिउँ फुसफुसाउन थालेपछि निकै खुसी बनेका छन्।
लगभग चार सय कुरिया घरधुरी रहेको सिक्लेस नेपालकै ठूलो गुरुङ गाउँका रूपमा परिचित छ। यातायातका साधन हुँदै पोखराबाट लगभग चार घण्टाको यात्रामा पुग्न सकिने यो गाउँमा पुग्नासाथ ढुङ्गाले छाएको एवं छापिएको गुजुमुच्च तर अत्यन्त सफा र सुन्दर नमूना बस्ती देख्न सकिन्छ। गाउँका बाटाघाटा तथा घर तथा चोकमा प्लास्टिक तथा कागज केही नभेटिने यो ठाउँ मानव सभ्यता र संस्कृतिको ज्वलन्त उदाहरण जस्तै बनेको छ।
गुरुङ जातिको कला तथा संस्कृतिको जीवन्त सङ्ग्रहालय जस्तै बनेको यो गाउँबाट गुरुङ जातिको अन्तिम राज्य क्होलासोंथर एक दिनमा पुग्न सकिने भएका कारण पछिल्लो समयमा गुरुङ जातिको अध्ययन तथा अनुसन्धानका लागि स्वदेशी एवं विदेशी अनुसन्धाता पनि यहाँ पुग्ने गरेका छन्।