प्रशासनले निषेधित क्षेत्र तोकेपछि राजावादीको दरबारमार्गको प्रदर्शन शान्तिबाटिकामा हुने

 राप्रपालगायत दल र राजावादी समूहले राजसंस्था पुनः स्थापना र हिन्दु राष्ट्रको मागसहित बिहीबारदेखि सुरु गरेको अनिश्चितकालीन प्रदर्शन जारी छ । सोही अनुसार राजावादीहरुले शनिबार दरबारमार्ग क्षेत्रमा प्रदर्शन गर्ने जनाएका थिए । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबारदेखि नै लागू हुने गरी २४ असारसम्म नारायणहिटी दरबार संग्राहालय क्षेत्रलाई निषेधित क्षेत्र तोकेपछि उनीहरूले कार्यक्रमस्थल परिवर्तन गरेका छन् ।

नवराज सुवेदीको नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन परिचालन समितिले राति सूचना जारी गरेर सरकारले निषेधाज्ञा जारी गरेकाले जेठ १७ गतेलाई तोकिएको स्थान दरबारमार्ग परिवर्तन गरी शान्तिबाटिका, रत्नपार्क तोकिएको जानकारी गराइएको छ ।

सुवेदीले हस्ताक्षर गरेको सूचनामा १ बजेदेखि शान्तिबाटिका शान्तिपूर्ण जनआन्दोलन सुरु हुने उल्लेख छ । जनताको समर्थनमा आन्दोलन उत्कर्षमा पुग्ने अवस्थाबाट अत्तालिएको सरकारले निषेधाज्ञा जारी गरेको सूचनामा उल्लेख छ । ‘नेपाली जनताको मानव अधिकार, संविधानप्रदत्त प्रजातान्त्रिक अधिकार पटक–पटक अवरोध गर्ने सरकारले निषेधाज्ञाको प्रपञ्च रच्नु कुनै आश्चर्य भएन । निषेधाज्ञा आफैँमा जनआन्दोलन सफलताको दिशामा अघि बढिरहेको छ भन्ने सरकारको स्वीकारोक्ति हो,’ सूचनामा भनिएको छ, ‘जनताको चाहना बमोजिम जारी शान्तिपूर्ण आन्दोलनलाई निर्णायक तहमा लैजान काठमाडौं उपत्यकावासी लगायत देशभरिका जनतालाई आन्दोलनमा सहभागी हुन हामी अनुरोध र आह्वान गर्दछौं ।’

संयोजक सुवेदीले जनप्रदर्शन निरन्तर चल्ने बताएका छन् । ‘प्रजातन्त्र आउँछ, राजतन्त्रसहित हिन्दु राष्ट्र कायम हुन्छ,’ सुवेदीले भने, ‘हाम्रो मागहरू पूरा नहुँदासम्म अखण्ड रूपमा यो संघर्या कायम रहन्छ ।’

शनिबार बिदा हुने र उपत्यकामा भएको जात्रा पनि सकिएकाले प्रदर्शनमा आउने मानिसको संख्यामा बढ्ने उनीहरूले बताएका छन् ।

राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले भने, ‘काठमाडौं केन्द्रित गरेर आन्दोलनलाई थप सशक्त बनाउँदैछौँ । भद्र अवज्ञा र सत्याग्रह आन्दोलनको स्वरुप हुनेछ ।’ आयोजकले वर्षा हुन सक्ने भनेर छाता र पानीको बोतलसहित सडकमा भेला हुन भनेको छ । प्रदर्शनमा उपस्थित राजावादीहरुले नारा, जुलुससहित शीर्ष नेताहरूले भेलामा आफ्नो धारणा राख्ने गरेका छन् ।

हिजो प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सूचना जारी गर्दै केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्राहालय दक्षिण गेट हुँदै जय नेपाल मोडसम्म र महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार संग्राहालय दक्षिण गेटसम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला भइ अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेका छन् ।

राजावादीले गत चैत १५ मा गरेको प्रदर्शन हिंसात्मक हुँदा सञ्चारकर्मी सुरेश रजक र कीर्तिपुर–४ का २९ वर्षीय सबिन महर्जनको मृत्यु भएको थियो । गोली लागेर २० जना घाइते भएका थिए । घाइते तीन जना अहिले पनि उपचारको क्रममा छन् ।

सो घटनामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद धवलशमशेर जबरा, दुर्गाप्रसाद प्रसाईंसहित ६५ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । त्यसमध्ये ४ जना बालकविरुद्ध बाल अदालतमा मुद्दा दायर भएको छ । जिल्ला अदालतमा मुद्दा दर्ता भएकामध्ये ११ जनालाई आपराधिक उपद्रवअन्तर्गत र अन्यलाई व्यक्ति विशेष मुद्दा दर्ता गरिएको हो । उनीहरूको बयान अदालतमा चलिरहेको छ ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×