काठमाडौँ । आर्थिक अभावका कारण उपचारमा समस्या झेलिरहनु भएकी गलकोट नगरपालिका–१० पाण्डवखानीकी मिर्गौलापीडित १९ वर्षीया मुना सुनारलाई प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन्।
गलकोट समाज जापान कान्तो क्षत्रीय समितिले सुनारको उपचारार्थ सङ्कलन गरेको रु पाँच लाख ३५ हजार शनिबार उनकी आमा लालमायालाई हस्तान्तरण गरिएको हो। नियमित डायलासिसका लागि पैसा नभएपछि उहाँका परिवारजनले सहयोगको याचना गरेका थिए। अर्थाभावमा उपचारबाटै वञ्चित हुनुपर्ने स्थिति देखेपछि सुनारलाई आर्थिक सहायता प्रदान गरिएको समितिका उपाध्यक्ष हिमाल कँडेलले बताए। जापानमा रहेका नेपालीहरुबाट सो रकम जुटाइएको उनको भनाइ छ।
अस्पतालको शय्यामा रोगसँग जुधिरहेकी छोरीका लागि प्रवासी नेपालीले पठाएको आर्थिक सहयोग बुझ्दा लालमाया भावुक बन्नुभएको थियो। सुनारको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ। सहयोग जुट्दै गएमा छोरीको मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ की भन्ने आशमा लालमाया छिन्। उनी १५ वर्षदेखि श्रीमान्बाट अलगिएर माइतीमा बस्दै आउनुभएको छ । मिर्गौलापीडित छोरी मुनासहित चार सन्तान र ९८ वर्षीया आमाको लालनपालनको अभिभारा लालमायाकै काँधमा छ। दैनिक ज्याला-मजदूरी गरेर परिवार धान्ने उहाँलाई छोरी रोगले थलिएपछि अर्को बज्रपात परेको छ। उपचारमा लाग्ने लाखौँ खर्च कसरी जुटाउने भन्ने पिरलो छ।
मुना कक्षा १२ मा अध्ययनरत छिन्। रोगले सताएपछि उनको पढाइ पनि प्रभावित बनेको छ।