काठमाडौँ - चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ७ महीनामा खाना पकाउने एलपी ग्यास (एलपीजी) को खपत घटेको पाइएको छ। नेपाल आयल निगमले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा गत साउनदेखि माघसम्ममा २९ करोड ४२ लाख २७ हजार किलो एलपीजी खपत भएको छ। गत आव २०७८/७९ को सोही अवधिमा यो परिमाण ३० करोड ९९ लाख १४ हजार किलो थियो।
यो तथ्यांकले आव २०७८/ ७९ तुलनामा चालू आवमा १ करोड ५६ लाख ८७ हजार किलोले एलपीजी खपत घटेको छ। नेपाल आयल निगमका अधिकारीहरू देशमा एलपीजीबाट बल्ने चूल्होको विकल्पका रूपमा प्रयोग हुने विद्युतीय उपकरणको प्रयोग बढेपछि यो स्थिति आएको बताउँछन्।
'खाना पकाउने, पानी तताउनेलगायत काममा बढीजसो एलपीजी प्रयोग हुने हो। पछिल्लो समय यस्ता कार्यमा विद्युतीय उपकरणको प्रयोग बढ्दै गएको छ। त्यही भएर एलपीजी खपत घटेको हुनसक्छ,' निगमका सहप्रवक्ता पुस्कर कार्कीले भने। कार्कीले खपतमा कमी देखिए पनि एलपीजी प्रयोगकर्ताको दायराचाहिँ फराकिलो बन्दै गएको बताए।
आर्थिक अभियान दैनिकबाट