चीनको दक्षिणपूर्वी क्षेत्रमा भएको एसयूभी कार दुर्घटनामा बालबालिकासहित आठ जनाको मृत्यु भएको छ। सरकारी सञ्चारमाध्यमका अनुसार साङ्घाईबाट करिब ४८० किलोमिटर पश्चिममा पर्ने ग्रामीण क्षेत्र पेन्जे काउन्टीमा उक्त दुर्घटना भएको हो।
पिपुल्स डेली प्रेसअन्तर्गतको प्रकाशन न्यू सेक्युरिटी का अनुसार हालै परेको वर्षाका कारण सडक चिप्लो बनेको र सोही कारण चालकले नियन्त्रण गुमाउँदा सात सिटे एसयूभी सडकबाट खस्दै नजिकैको पोखरीमा पुगेको थियो।
उक्त एसयूभी स्थानीय निजी किन्डरगार्टेनका बालबालिकालाई ओसारपसार गर्न प्रयोग हुँदै आएको बताइएको छ। दुर्घटनाका बेला गाडीमा धेरै बालबालिका सवार रहेको स्थानीय अधिकारीहरूले जनाएका छन्।
काउन्टी सुरक्षा अधिकारीहरूले चालकसहित आठ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। अन्य पीडितहरूको अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन भने घटनाको थप अनुसन्धान जारी रहेको जनाइएको छ।