अमेरिकाबाट ग्राण्डस्लाम सपना पछ्याउँदै पूर्व नम्बर वान टेनिस खेलाडी अभिषेक

काठमाडौँ - नेपालमै बसेर व्यवसायिक टेनिसको अवसर नदेखेपछि सन् २०१६ मा १८ वर्षको उमेरमै अमेरिका पुगेका अभिषेक ग्राण्डस्लाम खेल्ने सपना पूरा गर्न मिहिनेत गरिरहेका छन्।

टेनिसको सबैभन्दा ठूलो प्रतियोगिता हो-ग्राण्डस्लाम। अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन, विम्बल्डन र यूएस ओपन गरी वर्षमा ४ वटा ग्राण्डस्लाम प्रतियोगिता हुन्छन्। यो प्रतियोगितामा सिधा छनोटका लागि टेनिसको विश्व वरीयता (एटीपी)को शीर्ष २०० भित्र पर्नुपर्छ। आर्थिक अभाव, भिषा समस्यालगायत थुप्रै चुनौतीका बीच अभिषेकले आफ्नो अन्तिम लक्ष्य पछ्याइरहेका छन्।

‘ग्राण्डस्लाम मेरो अन्तिम लक्ष्य हो। एकैपल्ट त्यहाँ पुग्न सकिंदैन। त्यसका लागि विस्तारै अघि बढिरहेको छु, प्रतिस्पर्धा धेरै छ हरेस खाएको छैन,’ अमेरिकी टेनिस प्रणालीअन्तर्गत युनिभर्सिटी खेलका डिभिजन वान टेनिस खेलाडी अभिषेक भन्छन्।

पोखरा महेन्द्रपूलका २४ वर्षीय अभिषेक १५ वर्षको उमेरमै नेपाल नम्बर एक भएका हुन्। उनले ३ प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका छन्। सन् २०१४ को १७औं एसियाली खेलकुद र २०१८ को १८औं एसियाली खेलकुदमा नेपाली टिममा रहेका उनले सन् २०१६ मा भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुद खेलेका छन्। १८औं एसियाली खेलकुदका लागि उनी अमेरिकाबाट फर्केर छनोट प्रतियोगिता जितेका हुन्। सन् २०१३ मा चीनमा भएको युथ एसियाली खेलकुदमा पनि अभिषेकले नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका थिए।

सानै उमेरमा पर्याप्त सफता बटुलेपछि उनी व्यावसायिक खेलाडी बन्ने लक्ष्यसहित अमेरिका पुगे। आएपछि सुरुको १ वर्ष एएसए कलेज मायमीमा अध्ययन गरेपछि सन् २०१७ देखि एक वर्ष युनिभर्सिटी अफ टेक्सास अर्लिङटनमा खेलाडी छात्रबृत्तिमै भर्ना भए। त्यहाँबाट पूर्ण छात्रबृत्तिमै सेन्ट मेरिज कलेज, सान फ्रान्सिस्को पुगेका अभिषेकले सोही कलेजको प्रतिनिधित्व गरी डिभिजन वान टेनिस सिरिज खेलेका हुन्। ‘ग्राजुएट सकिएपछि वरीयताप्राप्त प्रतियोगिताहरु खोजी गर्दै सहभागी भइरहेको छु,’ उनले थपे।

पाँच वर्षमा ग्राण्डस्लाम खेल्ने लक्ष्य

टेनिस महंगो खेल हो। विदेशमा बसेर आफैं कमाउँदै व्यवसायिक खेलकुदमा अगाडि बढ्ने प्रयास आफैंमा चुनौतीपूर्ण हुन्छ। अभिषेकलाई पनि यस्तै भएको छ। विश्वविद्यालयमा अध्ययनका लागि छात्रवृत्ति पाए पनि खेलका आगि आवश्यक खर्च आफैंले जोहो गर्नुपर्नेछ।

अहिले अभिषेशको दैनिकीमा टेनिसबाहेक केही छैन। प्रतियोगिता नभएको समयमा प्रशिक्षणको काम पनि गर्छन्। यसले उनको आर्थिक संकटलाई केही हदसम्म समाधान गर्नेछ। दिनमा ४ घण्टा प्रशिक्षण, २ घण्टा जिम, रिकभरी, योगामै समय बिताउँछन्।

‘प्रशिक्षक र फिजियो राख्न मेरो आर्थिक क्षमताले पुग्दैन। वर्षभरि टूर गर्नका लागि ५० देखि ७० हजार डलरसम्म खर्च हुन्छ’ अभिषेक भन्छन्, ‘अहिलेसम्म कुनै स्पोन्सर पाएको छैन। आफ्नै खर्च मिलाउन सहज होस भनेर पार्टटाइम प्रशिक्षण गरिरहेको छ।’

अभिषेक एशोसिएसन अफ टेनिस प्रोफेसनल्स (एटीपी)को वरीयतामा प्रवेश पाएका छैनन्। त्यसका लागि धेरै भन्दा धेरै वरीयताप्राप्त प्रतियोगिता खेल्नुपर्छ। युनिभर्सट टेनिस रेटिङ ढयूटीआर) सिरिजमा खेल्दा पनि वरीयतामा प्रवेश पाउन सजिलो हुन्छ। त्यसबाहेक आईटीएफ प्रो सर्किट एटीपीमा प्रवेश पाउने पहिलो खुट्किलो हो। अभिषेश भन्छन्, ‘आईटीएफ प्रो सर्किटमा वर्षभरि ३०० भन्दा बढी प्रतियोगिता आयोजना हुन्छन्। एकपछि अर्को प्रतियोगिता खेल्ने र अंकहरु जोड्दै जाँदा एटीपीको वरीयतामा पर्छ सहज हुन्छ।’

नेपाली राहदानी बाहक भएको हुनाले विश्वभरका वरीयताप्राप्त प्रतियोगिता खेल्न अभिषेकले भिषा र समयको समस्या व्यहोरेका छन्। वरीयताप्राप्त प्रतियोगितामा आयोजकहरुले आफैंले खेलाडी छनोट गर्छन्। ‘अमेरिकाबाहिरको प्रतियोगिताका लागि आवेदन दिए पनि खेल्न पाउने निश्चितता हुँदैन। तर, त्यो देशको भिषाका लागि चाहिँ अगाडि नै आवेदन दिनुपर्छ। भिषा आए पनि प्रतियोगितामा खेल्न पाइएन भने खर्चमात्र हुन्छ,’ अभिषेकले भने।

अभिषेकले अवको ५ वर्षमा ग्राण्डस्लाम खेल्ने अन्तिम लक्ष्य निर्धारण गरेका छन्। त्यसका लागि उनी सुरुवाती चरणमै छन्। तत्कालको लक्ष्य अंक बढुल्दै जाने हो। '२९/३० वर्षको उमेर भनेको टेनिस खेल करिअरमा सबैभन्दा राम्रो गर्न सक्ने समय हो। त्यतिबेलासम्म एटीपी वरीयतामा २०० भन्दा तल आउन सकेँ भने नेपालको पहिलो ग्राण्डस्लाम खेलाडी बन्नेछु,'अभिषेकले भने।

नेपालका लागि खेल्न जुनसुकै बेला तयार

सन् २०१३ देखि % वर्षको बीचमा चारवटा महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामा अवसर पाएका अभिषेकबारे अहिले नेपाल टेनिस संघलाई खासै जानकारी छैन। संघका महासचिव मनोहर मुलले अभिषेकले अमेरिकाबाट व्यवसायिक टेनिस खेलिरहेको थाहा भए पनि उनको पछिल्लो अवस्थाबारे संघलाई जानकारी नभएको छ।

तर, अभिषेक भने आफू नेपालबाट खेल्नका लागि जुनसुकै समयमा तयार रहेको बताउछन्। ‘नेपालबाट खेल्ने मेरो सपना नै हो। आफ्नो क्षमता र स्तरबृद्धिका लागि अमेरिका आए पनि म नेपालकै प्रतिनिधित्व गर्न चाहन्छु। संघले चाहेको अवस्थामा जुनसुकै समयमा उपलब्ध हुनेछु,’ अभिषेकले भने।

उनले एसियाली खेलकुददेखि ओलम्पिकसम्म खेल्ने लक्ष्य बोकेका छन्। अर्को वर्ष चीनमा हुने १९औं एसियाली खेलकुदका लागि खेलाडी छनोट भइसकेको छ। अभिषेक नेपाल टिममा छैनन्। उनले यसबारे अफूलाई थाहा नभएको बताएका छन्। अमेरिकामा बसेर व्यवसायिक टेनिसका लागि प्रयास गरिरहेको खेलाडीलाई नेपालबाट अन्तर्राष्ट्रिय प्रतिनिधित्व गराउँदा पदक सम्भावना बलियो हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×