स्याङ्जा - स्याङ्जाका दुई नगरपालिका उत्कृष्ट घोषित भएका छन्। नेपाल नगरपालिका सङ्घको २९औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा स्याङ्जाका दुईसहित सात नगरपालिकालाई पुरस्कृत गरिएको छ।
नगरपालिका सङ्घले विभिन्न सूचकलाई आधार मानेर गरेको मूल्याङ्कनका आधारमा वालिङ र पुतलीबजार नगरपालिकालाई आर्थिक वर्ष २०७७-७८ मा संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका क्षेत्रमा उल्लेख्य कार्य गरेकाले ‘उत्कृष्ट नगरपालिका पुरस्कार २०७८’बाट पुरस्कृत गरिएको हो।
वालिङ नगरपालिका उत्कृष्ट घोषित भएसँगै नगर प्रमुख दिलीपप्रताप खाँणले आगामी दिनमा काम गर्नका लागि थप ऊर्जा तथा प्रेरणा मिलेको बताए।
वालिङ नगरपालिका पुरस्कृत हुँदै गर्दा यहाँका नागरिकको सहयोगी भूमिका महत्वपूर्ण रहेको नगर प्रमुख खाँणको भनाइ छ। गतवर्ष पनि नेपाल नगरपालिका सङ्घको २८औँ वार्षिकोत्सवका अवसरमा वालिङ नगरपालिलाई सहरी योजना, वातावरण, विपद् जोखिम व्यवस्थापन र उत्थानशीलतामा देशकै उत्कृष्ट नगर घोषित भएको थियो।
त्यस्तै नेपाल नगरपालिका सङ्घकै २३औँ स्थापना दिवसका अवसरमा २१७ नगरपालिकामध्ये वालिङ नगरपालिका सर्वोत्कृष्ट भई पुरस्कारसमेत प्राप्त गरिसकेको छ। नगरपालिकाले उत्कृष्ट सेवा प्रवाह, सहरी योजना, सुशासन, फोहरमैला व्यवस्थापन लगायतका विषयवस्तुलाई मूल्याङ्कन गर्दै वालिङ सर्वोत्कृष्ट बन्न सफल भएको थियो।
यसअघि सङ्घीय तथा स्थानीय विकास मन्त्रालयले २०७४ सालमा देशभरका पालिकामध्ये सर्वोत्कृष्ट सफा नगरका रुपमा वालिङलाई पुरस्कृत गरेको थियो। सहरी योजना, विपद् व्यवस्थापनमा धादिङको नीलकण्ठ नगरपालिका, वातावरण तथा उत्थानशीलतामा इलामको इलाम नगरपालिका, स्थानीय आर्थिक विकासमा सर्लाहीको हरिवन नगरपालिका, सामाजिक विकासमा रुपन्देहीको तिलोत्तममा नगरपालिका र चितवनको राप्ती नगरपालिका गरी पाँच विधामा सात नगरपालिकालाई उत्कृष्ट घोषित गरिएको नेपाल नगरपालिका सङ्घले जनाएको छ।