बजेट थप्नुपर्ने योजनाको नाम पठाउनुस् : शिक्षामन्त्री

बलेवा- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बजेट थप गर्नुपर्ने योजनाको नाम पठाउन बागलुङका कार्यालय प्रमुखलाई आग्रह गरेका छन्। आइतबार मन्त्री पौडेलले गृह जिल्लामा रहेकाका कार्यालयका प्रमुखसँग छलफल गरी बजेट थप गर्नुपर्ने नयाँ तथा पुराना योजनाको विवरण मागेका हुन्। 

उनले रकमान्तर र नयाँ बजेट निर्माणको तयारी सुरु भएकाले तत्काल गर्नुपर्ने काम केही भए लेखेर पठाउन भनेका छन्। अर्थ मन्त्रालयले फागुनको पहिलो साता रकमान्तर गर्ने र सोही समयबाट नयाँ बजेटको तयारी हुने भएकाले योजना माग गर्नुपरेको उनले बताए। कार्यालय प्रमुखसँग मन्त्री पौडेलले भने, “थप्नुपर्ने योजनाको विवरण दिनुहोस् मन्त्री र सचिवसँग छलफल गरी बजेट थप्न लगाउँछु।’’ कानुनअनुसार निर्वाचन तोकिएकै समयमा हुने भएकाले फागुन महिना भरीमा सञ्चालित धेरै योजनाको काम सक्न कार्यालय प्रमुखलाई निर्देशन दिए। मन्त्री पौडेलले गलकोट–मल्म जोड्ने पक्की पुल निर्माणमा ढिलाइ भएको भन्दै त्यसको अनुगमन गरी कामअघि बढाउन सम्बन्धित कार्यालयलाई निर्देशन दिए। 

जिल्लामा झलुङ्गे पुलको समस्या समाधान हुँदै गएकाले नयाँ बनाउनुपर्ने ठाउँको अध्ययन गर्न सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिए। आलु, मकै तथा अन्य कृषिसम्बन्धी योजनामा बजेट विनियोजन गर्नुपरे योजनाको नाम टिपाउन आग्रह गरे। नयाँ बजेटका लागि योजना आयोगसँग छलफल चलिरहेको भन्दै रणनीतिक योजना, विद्यालय, मोटरबाटोलगायत पूर्वाधार निर्माणका लागि कुन योजनामा कति रकम विनियोजन गर्ने लिपीबद्ध गरी टिपाउन मन्त्रीले निर्देशन दिए। बुर्तिबाङ प्राथमिक अस्पताललाई जिल्ला अस्पताल बनाउने प्रक्रिया रहेको भन्दै आवश्यक प्रक्रिया जुटाउने काम भइरहेको उनले बताए। 

बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले शान्ति सुरक्षा जिल्लामा सामान्य नै रहेको जानकारी गराए। सरकारी कार्यालय प्रमुखले अन्तरक्रियामा बागलुङ कुश्मीशेरा सडकको गलुवामा पहिराको समस्या रहेको विषयमा मन्त्री पौडेलको ध्यानाकर्षण गराएका थिए। वर्षातको समयमा खसेको पहिरो हिउँदको समयमा नियन्त्रण र सडक मर्मत नगरे आउँदो वर्षामा समस्या दोहोरिने उनीहरूले जानकारी गराएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×