हाते ट्र्याक्टर वितरण

 तनहुँ - कृषि ज्ञान केन्द्र तनहुँले व्यास –९ गजौडेका कृषकलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ। सुनौला नयाँ गोरेटो कृषि सहकारी संस्थामा आबद्ध कृषकलाई ज्ञान केन्द्रले हाते ट्र्याक्टर वितरण गरेको हो। 

पचास प्रतिशत अनुदानमा नौवटा हाते ट्र्याक्टर वितरण गरिएको ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए। कृषिमा यान्त्रिकरण गर्ने उद्देश्यसहित हाते ट्र्याक्टर वितरण गरिएको तिवारीले बताए। हाते ट्र्याक्टरको कूल लागतको पचास प्रतिशत कृषकले र पचास प्रतिशत कार्यालयले व्यहोरेको छ।

“लागत घटाउँदै कृषिमा यान्त्रिकरण गर्नका लागि कृषकलाई उपकरण दिएका हौँ”, उनले भने, “परम्परागत प्रविधिको खेतीले आम्दानीभन्दा खर्च धेरै भइरहेको छ । कृषिमा यान्त्रिकरण गर्न सके लागत घट्न गई आम्दानी बढाउन सकिन्छ।”

जिल्लाकै ऋषिङ गाउँपालिकाले कृषकलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ। गाउँपालिकाले वडा नं ४ भिरकोटका कृषकलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको हो। परम्परागतरूपमा कृषि पेशा गर्दै आएकालाई व्यावसायिक बनाउन १० कृषकलाई हाते ट्र्याक्टर उपलब्ध गराइएको प्रवक्ता विजय दरैले जानकारी दिए।

हाते ट्र्याक्टर पाएपछि यहाँका कृषक खुसी भएका छन्। खेतबारी जोत्नका लागि गोरुको प्रयोग गर्दा लागत महङ्गो हुने गरेकाले हाते ट्र्याक्टरले लागत पनि कम गराउने बताइएको छ। गाउँका युवा विदेशिएकाले कृषि क्षेत्रमा काम गर्ने मजदुरको अभाव खेपिरहेका किसानलाई ट्र्याक्टर पाएपछि सहज हुने विश्वास गरिएको छ। गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले भन्नुभयो, “हाम्रो मुलुकमा विकसित प्रविधि किसानको पहुँचमा पुर्याउन नसक्दा निर्वाहमुखी उत्पादनमा अल्झिएका छौँ।” ऋषिङका अधिकांश भू–भाग भिरालो भएकाले साना र हलुङ्गा किसिमका हाते ट्र्याक्टर किसानलाई उपयुक्त हुने बताइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×