काठमाडौँ - भरतपुर महानगरपालिका भित्रका मुख्य सडक तथा चोकमा ‘स्मार्ट सडक बत्ती’ जडान सुरु गरिएको छ। भरतपुर महानगर र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको संयुक्त साझेदारीमा काम थालिएको हो।
अभियान अन्तर्गत ७८ दशमलब १ किलोमिटर सडक क्षेत्रमा एक हजार ९३३ बत्ती जडान गरिनेछ। महानगर प्रमुख रेनु दाहालका अनुसार मूल्य अभिवृद्धि करसहित रु ११ करोड ४९ लाख ८९ हजार ३०० ठेक्का सम्झौता भएसँगै सेफ स्टिल-सूर्योदय ऊर्जा-टपशन जेभिले शुक्रनगरबाट काम सुरु भएको हो। अगामी वैशाखसम्म काम सम्पन्न हुने जनाइएको छ। उनले भने, “सुरक्षा र सुन्दरताको दृष्टिकोणले भरतपुरलाई उत्कृष्ट सहर बनाउन ‘उज्यालो सहर’ अभियान सहयोगी बन्नेछ।”
महानगरका मुख्य सहरी क्षेत्र जिल्ला प्रशासन, हाकिम, चौबिसकोठी, वीरेन्द्र क्याम्पस, सहिद, पुलचोक, पोखरा बसपार्क दियालो बङ्गला र मालपोत चोकमा हाईमास्ट बत्ती जडान गरिँदै छ। बाँकी सडकलाई स्मार्ट बत्ती जडान गरेर झिलिमिली बनाइने योजना छ।