काठमाडौँ खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलमा अस्थायी प्रहरीचौकी स्थापना गरिएको छ।
भौगोलिकरुपमा विकट तथा सुरक्षाका दृष्टिकोणले संवेदनशील क्षेत्र मानिने राखाबाङ्देलमा स्थापना गरिएको अस्थायी प्रहरीचौकीको बुधबार औपचारिकरुपमा उद्घाटन गरिएको हो। राखाबाङ्देल स्थानीय बासिन्दाको बस्ती पातलो भएको तथा सुरक्षाका दृष्टिकोणले अति नै संवेदनशील भएकाले तत्कालका लागि अस्थायी प्रहरीचौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए।
‘समुदायसँग प्रहरी’ भन्ने नेपाल सरकारको नीतिअनुसार राखाबाङ्देलका स्थानीय बासिन्दाको शान्ति-सुरक्षालाई मध्यनजर गर्दै तत्कालका लागि अस्थायी प्रहरीचौकी स्थापना गरिएको जनाइएको छ। राखाबाङ्देलमा स्थापना गरिएको प्रहरीचौकीका लागि स्थानीय बासिन्दा एवं समाजसेवी महादेव गिरीले निःशुल्क घर उपलब्ध गराएको प्रहरीले जनाएको छ।
प्रहरी सहायक निरीक्षकको नेतृत्वमा छजना प्रहरी रहने गरी स्थापना गरिएको अस्थायी प्रहरीचौकी प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका प्रमुख फणीन्द्र दाहाल र गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले संयुक्तरूपमा उद्घाटन गरेका हुन्।