काठमाडौँ - चीनका विदेशमन्त्री छिन ग्याङले एक महिनादेखि निश्चित कार्यक्रममा विदेशी नेतासँग भेटघाट नगरेका मात्र हैन, सार्वजनिक रूपमा समेत उनी देखिएका छैनन्।
चीनको विदेश मन्त्रालय पनि उनको बारेमा केही बताउन चाहेको छैन, जसका कारण अनुमानको सिलसिला तीव्र भएको छ। ५७ वर्षीय विदेशमन्त्री छिनका लागि अमेरिकी टिभी एङ्करसँगको अफेयर महँगो परेको विश्वास कतिपयले गरेका छन्।
कतिपयले छिनको लोकप्रियताका कारण उनी राष्ट्रपतिको कोपभाजनमा परेको बताएका छन्। यस्तो हो भने चीनमा फेरि एकपटक ठूलो फेरबदल हुन सक्छ।
मिडिया रिपोर्टका अनुसार छिन संयुक्त राज्य अमेरिकाका लागि राजदूतको रूपमा छोटो कार्यकालपछि डिसेम्बरमा विदेश मन्त्रीमा बढुवा भएका थिए।
छिन एक पेशेवर कूटनीतिज्ञ हुन् र उनलाई चिनियाँ नेता सी जिनपिङको भरपर्दो सहयोगी मानिन्छ। विदेश मन्त्रीको रूपमा उनले अमेरिकामा प्रक्षेपण गरिएको संदिग्ध चिनियाँ जासूस बेलुनको मुद्दामा वाशिंगटनको आलोचनासमेत गरेका थिए।
त्यसपछि दुई देशबीचको सम्बन्धमा चिसोपन आएको थियो। तर, उनले दुई पक्षबीचको तनावपूर्ण सम्बन्ध सुधार र वार्ता पुनःस्थापनाका प्रयासमा पनि महत्वपूर्ण भूमिका खेलेका थिए।
चीनमा वरिष्ठ नेता बिना कुनै स्पष्टीकरण यति लामो समयसम्म सार्वजनिक रूपमा नआउनु अस्वाभाविक भने होइन। सन् २०१२ मा वर्तमान रास्ट्रपति सी जिनपिङ पनि यस्तै गुमनाम भएका थिए।
सेप्टेम्बर १ देखि सी गुमनाम भएका थिए। अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनजस्ता विदेशी नेताहरूसँगको पूर्वनिर्धारित बैठकमा उनी सरिक भएका थिएनन्। त्यसको दुई सातापछि सेप्टेम्बर १५ मा उनी सार्वजनिक रुपमा देखापरे भने १५ नोभेम्बरमा चीनको राष्ट्रपतिमा चयन भएका थिए।