ताप्लेजुङ - ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबिबिएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ। यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ। यसबाट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार आउने विश्वास गरिएको छ।
गत शुक्रबार मैवाखोलाको ११ औँ गाउँसभाले पाँच वर्षमा एक डाक्टर उत्पादन गर्ने निर्णय गरेको हो। गाउँपलिकाले एमबिबिएस पढाउन सहयोग गर्न लागेको प्रवक्ता चन्द्रकुमार तामाङले बताए। आगामी २०७९/८० आर्थिक वर्षको बजेटबाट एमबिबिएस पढाउनको लागि रु २० लाख बजेटसमेत गाउँपालिकाले विनियोजन गरेको उनले बताए।
गाउँपालिकाभित्रका विद्यार्थीलाई एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षामा उत्तीर्ण हुने एक विद्यार्थीलाई गाउँपालिकाले पढाइमा लाग्ने खर्च तथा अन्य खर्चसमेत गाउँपालिको उपलब्ध गराउने प्रशासकीय अधिकृत देवी तुम्बापोको भनाइ छ। पालिकाभित्रका ज्येष्ठ नागरिक अपाङ्गता भएका नागरिकका लागि प्रत्येक महिना घरमै स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि उपचार गर्ने गाउँपालिकाले जनाएको छ।