‘ढिलो या चाँडो म भारतका लागि विश्वकप जित्न चाहन्छु': हार्दिक पान्ड्या

काठमाडौँ - भारतीय अलराउन्डर हार्दिक पान्ड्याको चर्चा यतिबेला धेरै बढेको छ। गुजरात टाइटन्सलाई पहिलो सहभागितामै इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जिताएपछि पान्ड्याको क्षमताबारे तारिफ भइरहेको छ। गुजरातको सफलतामा उनले अग्रपंक्तिमा रहेर प्रदर्शन गरेका थिए।

फाइनलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दा पान्ड्याको प्रदर्शन निर्णायक रहेको थियो। उनले बलिङतर्फ चार ‌ओभरमा १७ रन खर्चिएर तीन विकेट लिएपछि राजस्थान केवल १३० रनमा सीमित भएको थियो। पान्ड्याले तीन विस्फोटक ब्याट्सम्यान सन्जु सामसन, जोस बटबलर र सिमरन हेटमेयरलाई आउट गरेका थिए।

सामान्य लक्ष्य पछ्याउने क्रममा पान्ड्याले ३४ रन बनाएका थिए। यसअघि मुम्बई इन्डियन्सका लागि चार पटक जितेका थिए। सन् २०१५ मा मुम्बई  इन्डियन्समा आबद्ध उनले त्यहाँ ६ सिजन आईपीएल खेलेका थिए।

मुम्बई इन्डियन्समा पनि आफ्नो पहिलो सिजनमै उनले आईपीएल जितेका थिए। त्यसपछि सन् २०१७, २०१९ र २०२० सिजन पनि आईपीएल मुम्बईले जितेको थियो। गत वर्ष भएको मेगा अक्सनमा मुम्बईले पान्ड्यालाई रिलिज गरेपछि उनी अन्य टोलीमा जान सक्ने अवस्था बनेको थियो।

मेगा अक्सनमार्फत नवप्रवेशी गुजरात टाइटन्सले उनलाई कप्तान बनाएपछि पहिलोपटक आईपीएलमा नेतृत्व गर्ने अवसर पाएका थिए। उनी आईपीएलको इतिहासमै पहिलो सहभागितामै उपाधि जिताउने दोस्रो कप्तान बनेका छन्। यसअघि सन् २००८ मा सेन वाट्सनले राजस्थानका लागि यस्तो सफलता दिलाएका थिए।

२८ वर्षीय पान्ड्याले गुजरातका लागि जितेको ट्रफी यसअघि मुम्बईका लागि जिते बराबर रहेको बताएका छन्। ‘आईपीएल जित्नु सधैँ विशेष अनुभव हुन्छ। म आफूलाई निकै भाग्यमानी ठान्छु कि आईपीएलमा पाँचपटक फाइनल खेलेँ र पाँचैपटक उपाधि जितेको छु’, गुजरातका लागि उपाधि जितेपछि पान्ड्याले भनेका छन्।

गुजरातमै जन्मिएका पान्ड्याका दाजु क्रुनाल पनि क्रिकेटर हुन्। पान्ड्या पाँच वर्षको हुँदा छोराहरुलाई क्रिकेट सिकाउन उनका बुबाले परिवारकाे बसाइ बारोडा सारेका थिए।

पान्ड्याले टी-२० क्रिकेटमा हालसम्म १९० खेलका १६२ पाली खेल्दै १२ अर्धशतकसहित ३ हजार २८४ रन बनाएका छन्। ती खेलमा उनले ११८ विकेट लिएका छन्। त्यसमा पनि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५४ खेलका ३६ पालीमा ५५३ रन जोडेका छन्। भने, ४२ विकेट पनि हात पारेका छन्।

पान्ड्याले भारतका लागि विश्वस्तरको उपाधि जित्ने सौभाग्य प्राप्त गरेका छैनन्। सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले सन् २०१३ यता विश्वस्तरको उपाधि जित्न सकेको छैन। भारतले अन्तिम उपाधिका रुपमा सन् २०१३ मा च्याम्पियन्स ट्रफी जितेको थियो। विश्वकपका रुपमा पछिल्लोपटक सन् २०११ मा एकदिवसीय हात पारेको थियो। सन् २०१६ र २०१८ मा भारतले एसिया कप भने जितेको थियो।

हार्दिक अब भारतका लागि उपाधि जित्न चाहन्छन्। यसै वर्ष हुने टी-२० विश्वकप जित्ने उनको चाहना रहेको छ। भारतले सन् २००७ मा टी-२० विश्वकप जितेको थियो। अष्ट्रेलियाले अक्टुबर १६ देखि नोभेम्बर १३ सम्म विश्वकप आयोजना गर्दैछ।

सन् २०१७ मा आयोजित च्याम्पियन्स ट्रफीमा भारत फाइनल पुगेको थियो। तर, उपाधि भिडन्तमा पाकिस्तानसँग पराजित भएको थियो। त्यतिबेला त्यस प्रतियोगितामा पान्ड्या भारतका सर्वाधिक रन जोड्ने ब्याट्सम्यान बनेका थिए।

पान्ड्या भन्छन्, ‘भारतका लागि खेल्न पाउनु सधैँ सपना पूरा भएजस्तो लाग्छ, अन्य जतिसुकै खेलहरु खेलौं। भारतको प्रतिनिधित्व गर्न पाउँदा आनन्द लाग्छ। आज मैले जुन माया पाएको छु, त्यो सबै भारतीय टोलीका लागि खेलेका कारण हो।’

उनी भन्छन् ‘ढिलो या चाँडो म भारतका लागि विश्वकप जित्न चाहन्छु, अरु जेसुकै होस्।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×