काठमाडौँ - पाकिस्तानका कप्तान बाबर आजम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तानका रूपमा सबैभन्दा छिटो १ हजार रन पूरा गर्ने ब्याट्सम्यान बनेका छन्।
मुल्तानमा बुधबार वेस्ट इन्डिजविरुद्ध खेलिएको तीन खेलको एकदिवसीय शृंखलाको पहिलो एकदिवसीय खेलमा बाबरले १०३ रनको इनिङ्स खेल्दै यो उपलब्धि हासिल गरेका हुन्। बाबरले मात्र १३ इनिङ्समा हजार रन बनाएका छन्।
पाकिस्तानी कप्तानले यस मामिलामा भारतीय पूर्व कप्तान विराट कोहलीलाई पछि पारेका छन्। कोहलीले कप्तानको रूपमा १७ औं इनिङ्समा १ हजार रन पूरा गरेका थिए। त्यसपछि दक्षिण अफ्रिकाका पूर्व कप्तान एबी डिभिलियर्स (१८) र न्यूजिल्याण्डका केन विलियम्सन (२०) छन्।
साथै बाबर आजम एकदिवसीय अन्तर्राष्ट्रियमा दुई पटक लगातार तीन शतक प्रहार गर्ने विश्वकै एकमात्र ब्याट्सम्यान बनेका छन्। यस खेलमा शतक बनाउनुअघि बाबरले अप्रिलमा अष्ट्रेलियाविरुद्धको दोस्रो र तेस्रो एकदिवसीयमा पनि शतक बनाएका थिए। बाबरले सन् २०१६ मा वेस्ट इन्डिजविरुद्ध लगातार तीन शतक बनाएका थिए।
एकदिवसीयमा सबैभन्दा छिटो हजार रन (कप्तानका रूपमा):
विराट कोहली (भारत) – १७ इनिङ्स
एबी डिभिलियर्स (दक्षिण अफ्रिका) – १८ इनिङ्स
केन विलियम्सन (न्युजिल्यान्ड) – २० इनिङ्स
एलिस्टर टोटल (इंग्ल्याण्ड) – २१ इनिङ्स
सौरभ गांगुली (भारत) – २२ इनिङ्स
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३०५ रन बनाएको थियो। शाई होपले आफ्नो एकदिवसीय करियरको १२ औं शतक प्रहार गर्दै १२७ रनको शानदार इनिङ खेलेका थिए। शमराह ब्रुक्सले ७० र रोभम्यान पावेलले ३२ रनको योगदान दिएका थिए। पाकिस्तानका लागि हरिस रउफले ४ र शाहिन अफ्रिदीले २ विकेट लिए।
जवाफमा पाकिस्तानले ४९.२ ओभरमा पाँच विकेट गुमाएर ३०६ रन बनाएर खेल जित्यो। बाबर आजमले सर्वाधिक १०३ रनको इनिङ खेले जसमा सात चौका समावेश थिए। त्यस्तै इमाम उल हकले ६५ र मोहम्मद रिजवानले ६३ रनको उत्कृष्ट योगदान दिएका थिए। यसबाहेक खुशदिल शाहले अन्तिम ओभरमा २३ बलमा ४१ रनको अविजित इनिङ खेले। वेस्ट इन्डिजका लागि अल्जारी जोसेफले २ विकेट लिएका थिए।