काठमाडौँ- सरकारले नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पाल्पाका कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेप्से सीईओको जिम्मेवारी दिएको हो। सार्वजनिक प्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर कार्की हाल बूढीगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा, पुनर्वास तथा पुनस्र्थापना इकाइका प्रमुख छन्।
बुक बिल्डिङमार्फत आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर नेप्सेका सीईओ चन्द्रसिंह साउदले श्रीमतीको नाममा खरिद गरेका थिए। प्रतिकित्ता ७५० रुपैयाँमा आईपीओ जारी गर्न लागेको सर्वोत्तमको सेयर साउदले २५० रुपैयाँमा १० हजार कित्ता किनेका थिए। यसरी पदीय मर्यादाविपरीत सर्वोत्तम सिमेन्टको आन्तरिक सेयर कारोबारमा विवादित भएका साउदले सरकारले निलम्बन गर्ने तयारीका साथै दोस्रो स्पष्टीकरण सोधेपछि राजीनामा दिएका थिए।
चन्द्रसिंह साउदले गत भदौ ८ गते नेप्सेको सीईओबाट राजीनामा दिएका थिए। त्यसपछि नेप्सेमा सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो। समितिमा मन्त्रालयकै सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पूर्वअध्यक्ष जीवनाथ धिताल थिए।
रिक्त रहेको नेप्से सीईओ पदको प्रतिस्पर्धामा ११ जनाले आवेदन दिएका थिए। तीमध्ये पाँच जना सर्टलिस्टमा परेका थिए। गत पुस २६ मा त्यसबाट प्रवीण पन्दाक र रमेश घिमिरेलाई अस्वीकृत गर्दै छनोट समितिले बाँकी तीन जनामध्येबाट नेप्से सीईओमा नियुक्तिका लागि अर्थ मन्त्रालयमार्फत मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो।