मोरङ - मोरङको दोस्रो ठुलो क्याम्पस सुकुना बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका सन्तोष लिम्बू पुनः निर्वाचित भएका छन्। लिम्बूले १ हजार ३ सय ८२ मत ल्याएर सभापतिमा निर्वाचित हुँदा एमाले निकटको अनेरास्वियुका मनोज कार्कीले ६५७ मत पाएका छन्।
यसअघि २०७३ सालमा भएको निर्वाचनमा पनि लिम्बू नै विजयी भएका थिए। उक्त क्याम्पसमा हिंजो मतदान भएको थियो। स्ववियु सचिवमा भने एमाले निकट अनेरास्ववियुका एलिस ओझा निर्वाचित भएका छन्। ओझाले १ हजार १४ मत प्राप्त गर्दा नेविसंघका निराजन धमलाले एक हजार ६ मत मात्रै ल्याएका छन्।
कोषाध्यक्षमा अखिल क्रान्तिकारीका सतिस कार्की निर्वाचित भएका छन्। उनले १३२५ मत ल्याएका छन् भने अनेरास्वियुकी हेमकुमारी नेपालीले ६९५ मत मात्रै ल्याएकी छिन्। सुकुनामा नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियूले गठबन्धन गरेका थिए। सदस्यहरूमा पनि बहुमत सोही गठबन्धनले जितेको छ। सुकुना क्याम्पसमा स्ववियुबाट पहिलो पटक एमाले निकटको अनेरास्ववियुले पराजय भोग्नु परेको छ।