काठमाडौँ - इटालियन सिरी ‘ए’ अन्तर्गत गएरातिको खेलमा युभेन्टसले शानदार जित निकालेको छ। उसले घरेलु मैदानमा लाजियोविरुद्ध ३-० को जित निकालेको
हो।
एलियन्ज स्टेडियममा युभेन्टसलाई सहज जित दिलाउन मोइसे किनले २ तथा अर्काडिउस मिलिकले १ गोल गरेका थिए। खेलको ४३औं मिनेटमा किनको गोलमार्फत युभेन्टसले अग्रता लिएको थियो। ५४ औं मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाएका थिए।
८९ औं मिनेटमा मिलिकले गोल गरेपछि युभेन्टसले ३-० को सहज जित निकाल्यो।
यो जितसँगै १५ खेलमा ३१ अंक जोडेर तेस्रो स्थानमा उक्लिँदा पराजित लाजियो समान खेलबाट ३० अंकका साथ चौथो स्थानमा रहेको छ। लिगअन्तर्गकै अन्य खेलमा एसी मिलान, मोन्जा, स्पेजिया र एट्लान्टाले जित हात पार्दा रोमा टोरिनोसँग बराबरीमा रोकिएको छ।