नयाँ प्रशिक्षक टेन हागले रोनाल्डोको इच्छा पूरा गर्ने

काठमाडौँ - म्यानचेस्टर युनाइटेडले डच प्रशिक्षक एरिक टेन हागलाई क्लबको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ। यस्तोमा क्लबका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको भविष्य के होला भन्ने चौतर्फी चासोको विषय बनेको छ।

रोनाल्डोको सम्झौता क्लबसँग अझै एक वर्षका लागि रहेको छ। प्रशिक्षक टेन हागले पनि आफू रोनाल्डोसँग सहकार्य गर्न उत्साहित रहेको बताएका छन्। यस्तोमा रोनाल्डोले पनि क्लबसँग अर्को सिजनका लागि आफ्नो इच्छा व्यक्त गरेका थिए। त्यसमा प्रशिक्षक टेन हागको पनि सहमत रहेको बुझिन्छ।

रोनाल्डोले आफू क्लबमा अर्को सिजन पनि रहने तर त्यसका लागि क्लबले आफूलाई सहयोग पुग्ने खेलाडी भित्र्याउन माग गरेका थिए। यस सिजन रोनाल्डोसँग समन्वय गरेका उरुग्वेली फरवार्ड एडिन्सन काभानीले क्लब छोड्दै छन्। एन्थोनी मार्सियलका लागि पनि युनाइटेडले बाटो खुला गरिदिएको छ। क्लबमा हाल फरवार्डको भूमिकामा मार्कस रासफर्ड मात्र छन्।

रोनाल्डोले आफूलाई आक्रमणमा सहयोग गर्न क्लबले राम्रो खेलाडी अनुबन्धन गर्नुपर्ने बताएका छन्। टेन हागले पनि रोनाल्डोको यो अन्तिम सिजन रहेकाले नयाँ खेलाडीलाई अहिले रोनाल्डोसँग सहकार्य गराउने र अर्को सिजन आक्रमण नेतृत्व गर्न तयार पार्ने लक्ष्य राखेका छन्। युनाइटेडले बेन्फिकाका उरुग्वेली फरवार्ड डार्विन नुनेजलाई नजर लगाएको छ।

नुनेजले यस सिजन ३४ गोल गरेका छन्। च्याम्पियन्स लिगमा लिभरपुलविरुद्ध भएको क्वाटरफाइनलमा उनले दुवै लेगमा गोल गरेका थिए। च्याम्पियन्स लिगमा उनले कुल ६ गोल गरे। 

रोनाल्डोले क्लबमा अर्का सेन्टर फरवार्डको आगमनले उनलाई सहयोग पुग्ने तथा क्लबलाई पनि फाइदा पुग्ने जानकारी दिएका छन्। रोनाल्डोले मुख्य फरवार्ड भन्दापनि बायाँ भागमा खेल्दा आफूलाई सहज हुने बुझेका छन्। उनले करिअरको अधिकांश समय रियल म्याड्रिड र युभेन्टसमा सोही भूमिका निर्वाह गरेका थिए। युनाइटेडमा भने फरवार्ड नहुँदा उनी मुख्य स्ट्राइकर बनेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×