काठमाडौँ - गत एक महिनाको अवधिमा ५० लाख दर्शनार्थीले मकर मेला अवधिभर पनौतीको अवलोकन, मठ–मन्दिरको दर्शन तथा स्नान गरेका छन्।
मकर मेला मूल व्यवस्थापन समितिका सचिवालय संयोजक ईन्द्रप्रसाद अधिकारीले भने, “कोभिडका कारण सुरुका दिन सुनसानजस्तै थियो, करिब १० दिनपछि दर्शनार्थीको घुइँचो लाग्दै गयो।” उनका अनुसार बिदाका दिन करिब दुई लाखसम्मले मेला अवलोकन गरेका हुन्। त्रिवेणीघाटमा नुहाइ त्यहाँको जल उत्तरतर्फ कुञ्जगिरीमा अवस्थित गोरखनाथलाई अर्पण गर्नाले ठूलो पुण्य मिल्ने धार्मिक आस्था रहँदै आएको छ।
राजा प्रताप मल्लले विसं १७२७ मा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको इतिहासविद्ले जनाएका छन्। तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्यमावती नदी गुप्त रूपमा बहिरहेको मान्यता रहेको छ। भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ्गममा गुप्तरुपले सरस्वती मिसन नदी बगेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुयणमाता नदीलाई लीलावती र गुप्तरुपले बहेकी ब्रम्हायणी मन्दिरको मुनिबाट दूध बग्ने नदी पद्यमावती मानिँदै आएको छ। इन्देश्वर महादेवलगायत मन्दिरका कारण पनौती महत्वपूर्ण तीर्थस्थलका रूपमा मानिँदै आइएको छ। मेलामा काभ्रेपलाञ्चोकका अलावा राजधानीलगायत देशैभरबाट सहभागिता भएको नगरपालिकाले जनाएको छ। मेलामा नेपालका मात्र नभइ उत्तर भारत प्रयागबाट समेत तीर्थालु आएको नगरप्रमुख भीम न्यौपानले बताए।
उनले भने, “भारतबाट समेत मेलामा सहभागिता जनाइएको छ, मेला सभ्य र भव्य बनाउन नगरपालिकाले विविध व्यवस्थापन गरेको थियो।” अन्तिम दिन सार्वजनिक बिदाका दिनसमेत परेकाले ट्राफिक व्यवस्थापनमा निकै हम्मेहम्मे परेको उनले बताए। उनका अनुसार कोरोनाको जोखिम नभएको भए ७० लाख भक्तजन तथा दर्शनार्थीले पनौतीको मेला अवलोकन गर्ने अनुमान गरिएको थियो। मेला व्यवस्थापनका लागि नगरपालिकाले रु. आठ करोडभन्दा बढी खर्च गरेको थियो।
नगरपालिकाले ट्राफिक व्यवस्थापन तथा पार्किङ, स्वयंसेवक, प्रदर्शनी, खानेपानी वितरण, स्नान–कुण्ड सरसफाइ एवं व्यवस्थापन, मन्दिर तथा मेलास्थलको सरसफाइ, झाँकी प्रदर्शनी, त्रिवेणीघाटलगायत ऐतिहासिक बजार क्षेत्र सजिसजाउ, प्राथमिक उपचार, खोज तथा उद्धार, सूचना केन्द्र सञ्चालनको काम गरेको थियो।