काठमाडौँ - आठपटकको महिला युरोपेली च्याम्पियन जर्मनीले मंगलबार ब्रेन्टफोर्डको कम्युनिटी रंगशालामा स्पेनलाई २-० ले हराएको छ। जितसँगै जर्मनीले समूह ‘बी’बाट समूह विजेताका रूपमा युरो २०२२ को क्वार्टरफाइनलमा स्थान बनाएको छ।
जर्मनीमाथि ऐतिहासिक पहिलो जितको आशा राखेको स्पेनले बलमाथि नियन्त्रण राखे पनि गोलका अवसरमा चुक्यो। कडा दबाब दिएर चाँडो मौकाको सदुपयोग गर्ने जर्मनी भने गोलका अवसरलाई सदुपयोग गर्न सफल भयो।
तेस्रो मिनेटमा स्पेनका गोलकिपर सान्ड्रा पानोसको गल्तीमा जर्मनीले अग्रता लिएको थियो। क्लारा बुएलको गोलबाट जर्मनीले अग्रता लिएको थियो। १०औँ मिनेटमा स्पेनकी फरवार्ड लुसिया गार्सियाले बराबरी गर्ने मौका पाएकी थिइन्। तर, उनले उक्त अवसरलाई सदुपयोग गर्न सकिनन्।
अलेक्जान्ड्रा पपले ३७औँ मिनेटमा फेलिसिटस रौचको कर्नरलाई हेडमार्फत गोल गर्दै जर्मनीको अग्रता दोब्बर बनाएकी थिइन्।
'हामीले सही समयमा २ गोल गर्यौँ। त्यसले हामीलाई वास्तवमै मद्दत गर्यो। खेल गोलरहित बराबरीमा लामो समयसम्म चलेको भए सायद नतिजा फरक आउन सक्थ्यो,' जर्मनीका प्रशिक्षक मार्टिना भोस-टेकलेनबर्गले भनिन्, 'स्पेनविरुद्ध २-० ले जित्नु भनेको धेरै गल्ती नगर्नु हो।' जर्मनीकी गोलकिपर मर्ले फ्रोम्सले ७१औँ मिनेटमा उत्कृष्ट बचाउ गरेकी थिइन्।
स्पेनले ७० प्रतिशत बल कब्जामा राखे पनि नतिजा निकाल्न सकेन। जर्मनीले अपराजित यात्रालाई २४ खेलसम्म कायम राख्न सफल भयो। 'यसस्तरमा सानो गल्ती गरे पनि उसले सजाय पाउँछ,' स्पेनका प्रशिक्षक जोर्ग भिल्डाले भने।
समूह ‘बी’मा जर्मनीले २ खेलबाट ६ अंक जोडेको छ। जर्मनीले यसअघि डेनमार्कलाई ४-० ले हराएको थियो। अर्को खेलमा डेनमार्कले गए राति फिनल्यान्डलाई १-० ले हराएको छ। डेनमार्क र स्पेनको समान ३ अंक रहेको छ।