काठमाडौँ - सिजन पूर्वको मैत्रीपूर्ण खेलमा इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडले शतप्रतिशत विजय हासिल गरेको छ। अहिले अष्ट्रेलिया भ्रमणमा रहेको युनाइटेडले प्रिमियर लिगकै अर्को क्रिष्टल प्यालेसलाई ३-१ ले पराजित गरेको हो ।
अष्ट्रेलियाको मेलबर्नमा युनाइटेडले १८औँ मिनेटमा एन्थोनी मार्सियालको गोलबाट अग्रता लिएको थियो। ४८औँ मिनेटमा मार्कुस राशफोर्डको युनाइटेडको अग्रता दोब्बर बनाए त्यसको ११ मिनेट वित्न नपाउँदै जाडोन सान्चोले युनाइटेडका लागि अर्को गोल थपेका थिए।
७४औँ मिनेटमा जो वार्डले गरेको गोलबाट क्रिष्टल प्यालेसले पुनरागमनको प्रयास गरे पनि सफल हुन भने सकेन। खेल सकिन ६ मिनेट बाँकी हुँदा विलियम फिसले रातो कार्डको सामना गरेपछि युनाइटेड दश खेलाडीमा सीमित भएको थियो।
युनाइटेडले यसअघि मेलबर्न भिक्ट्री क्लबलाई ४-१ ले हराएको थियो। त्यसअघि थाइल्यान्डमा सम्पन्न खेलमा प्रिमियर लिगकै प्रतिद्वन्द्वी लिभरपुललाई ४-० ले हराएको थियो।
सिजन अघि युनाइटेडले अब एष्टन भिल्ला, एटलेटिको मड्रिड र रायो भायोकानोसँग प्रतिस्पर्धाग गर्नेछ। युनाइटेड २०२२-२३ को नयाँ सिजन ब्राइटनविरुद्ध घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेलेर सुरुवात गर्नेछ।