काठमाडौँ - लोकप्रिय गायक नितिन गजुरेलको नयाँ गीत ‘जिन्दगीमा’ सार्वजनिक भएको छ। नितिनलाई गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छिन्।
मुनाल शिशिर कोइरालाको शब्द तथा राजेश थापाको संगीत रहेको गीतको भिडियोमा भने बलात्कारविरुद्धको सन्देश समेटिएको छ। भिडियोमा बलात्कार जघन्य अपराध हो। बलात्कृत नारीले आत्मसम्मान र स्वाभिमानका साथ जिउन पाउनुपर्छ भनिएको छ।
बलात्कारको पिडा बलात्कारीले नभएर स्वयं बलात्कृत नारीले भोग्छे भनेर समेत देखाउन खोजिएको भिडियोमा विजु पार्की र सुनिशा बजाजको मुख्य अभिनय रहेको छ।
भिडियोमा बालकलाकार ईशब घिमिरेको समेत अभिनय रहेको छ। सफल मोसन पिक्सचरले निर्माण गरेको भिडियोमा उत्सव दाहालको छायांकन रहेको छ। भिडियो विष्णु खड्काले सम्पादन गरेका छन्। भिडियोका निर्देशन मुनाल शिशिर कोइरालाले गरेका हुन्।