काठमाडौँ - ‘थोर’ र ‘एभेन्जर्स’जस्ता चर्चित हलिउड फिल्मका अभिनेता क्रिस हेम्सवर्थका प्रशंसकलाई केही दुःखद खबर छ। बिरामी भएको कारण यी अभिनेताले फिल्म अभिनयबाट विश्राम लिने भएका छन्। यो कुरा स्वयम अभिनेता हेम्सवर्थले खुलासा गरेका हुन्।
क्रिसले यसअघि नै बताएअनुसार उनी वंशाणुगत अल्जाइमर रोगबाट पीडित छन्। हलिउडका लोकप्रिय अभिनेतामा क्रिस पनि एक हुन्। संसारमा उनका करोडौं प्रशंसक छन्।
अभिनयको माध्यमबाट उनले ठूलै संख्यामा दर्शकको मन जितेका छन्। उनका फिल्मले नेपाली बक्सअफिसमा समेत राम्रै कमाएका छन्। उनी अभिनित हलिउड सुपरहिरो फिल्म ‘थोरः लभ एण्ड थन्डर’ हालै प्रदर्शनमा आएको थियो।
टेलिभिजनको हालैको एक ताजा एपिसोड ‘लिमिटलेस’मा अभिनेता हेम्सवर्थले यो कुरा बताएका थिए। उनका अनुसार उनमा अल्जाइमर बिमारीको एक बलियो लक्षण देखिएको छ। १० वर्षदेखि नै आफूलाई अल्जाइमर रोगको लक्षण देखिन थालेको उनले बताएका छन्। तर, यसको कारण उनले काम छोड्नु चाहिँ परेन। घरमा गएर आफूले शान्तिपूर्वक बाँकी जीवन बिताउन चाहेको उनले बताएका छन्।
‘अबको समय म बच्चा र पत्नीसँग बिताउन चाहन्छु’ उनले भनेका छन्।