किन गालीगलोजमा उत्रिए एका-एक हर्क साम्पाङ ?

काठमाडौँ - केही समयअघि धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले धरानमा विमानस्थल निर्माण गर्न अभियान नै चलाए । उनले गत कात्तिक २२ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेख्दै धरानमा विमानस्थल निर्माणका लागि पहल तथा सहजीकरण गरिदिन अनुरोध गरेका थिए । 

मेयर साम्पाङले पर्यटनमन्त्री सुदन किरातीलाई पठाएको पत्र सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक मात्रै गरेनन्, त्यही दिन विमानस्थलसम्बन्धी तीन वटा स्टाटस पनि लेखे ।

त्यसलगत्तै पर्यटनमन्त्री किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विमानस्थल निर्माणबारे अध्ययन गर्न निर्देशन दिए । आफूले  प्राधिकरणलाई अध्ययन गर्न दिएको निर्देशन मन्त्री किरातीले पनि फेसबुकबाटै जानकारी गराए । उक्त स्टाटस सेयर गर्दै मेयर साम्पाङले पर्यटनमन्त्री किरातीलाई धन्यवाद पनि दिए ।

मन्त्रीको निर्देशन पालना गर्दै प्राधिकरणले पनि कात्तिक २२ गते नै धरानमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न एक समिति गठन ग¥यो । मेयर साम्पाङको दबाब, पर्यटन मन्त्रीको निर्देशन र प्राधिकरणको एक्सनसँगै धरानमा विमानस्थल बन्ने चर्चा एकाएक चुलियो । धरानमा विमानस्थल बनाउन अध्ययन समिति गठन भएपछि मेयर साम्पाङ रिझाउन मन्त्री किराती धरानमा विमानस्थल बनाउन लागिपरेको भन्दै आलोचना समेत भयो । 

मन्त्री किरातीको निर्देशनपछि गठित अध्ययन टोलीले धरानमा विमानस्थल निर्माण सम्भव नभएको निष्कर्ष निकालेको छ । विस्तृत सम्भाव्यता अध्ययनअनुसार धरानमा विमानस्थल निर्माण गर्दा हवाई नीति २०६३ विपरीत हुने उल्लेख छ । 

‘तराई तथा भित्री मधेसमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने’ नीतिगत व्यवस्था विपरीत हुने प्राधिकरणले जनाएको छ । 

आर्थिक विश्लेषणपश्चात् सडक यातायातको सहज उपलब्धता तथा त्यस क्षेत्रको भौगोलिक अवस्थितिले गर्दा वन वे एप्रोच मात्रै सम्भव हुँदा हवाई यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नभएको देखिएको छ ।

प्राधिकरणले उक्त निष्कर्ष निकालेपछि धरानका मेयर साम्पाङ मन्त्री किरातीविरुद्ध गालीगलौजमा उत्रिएका छन् । उनले आफ्नो सार्वजनिक ओहोदासमेत भुलेर मन्त्री किरातीलाई असभ्य शब्दमा गाली गरिरहेका छन् । उनले मन्त्री किरातीलक्षित तारनतार स्टाटस लेखिरहेका छन् । यस क्रममा उनले मन्त्री किरातीलाई पोचा लाउने कुचीकार कि मन्त्री भन्दै ‘कुलको बदनामी’ गरेको आरोप लगाउनसमेत भ्याएका छन् । मन्त्री किरातीले केही समयअघि मन्त्रालयको आफ्नो कार्यकक्ष आफैँले सफा गरेका थिए, जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । 

त्यसैले मेयर साम्पाङले मन्त्री किरातीलाई कुचीकार कि मन्त्री भन्दै टिप्पणी गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘सुदन किराती मन्त्री नै हुन् कि पोचा लाउने कुचीकार ? खोइ त प्राधिकरणलाई तह लगाको, कुलको बदनामी !’ 

मेयर साम्पाङले मन्त्री किरातीले राज्यको ढुकुटी ‘सत्यानाश’ पारेको आरोप पनि लगाएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘केही गर्छ कि भनेको ताइ न तुइको गफबाहेक अरू केही गरेन । मन्त्री भएपछि मन्त्रीजस्तो काम गरे पो यस भन्नु । राज्यको ढुकुटीको सत्यानाश मात्रै ।’ 

मेयर साम्पाङले संविधान त परिवर्तन हुने उल्लेख गर्दै नियमावली संशोधन गरेर भए पनि धरानमा विमानस्थल बनाइछाड्ने दाबी गरेका छन् । उनले मन्त्री किरातीलाई गाई भैँसी पालेर बस्न पनि सुझाव दिएका छन् । 

उनले लेखेका छन्– ‘अब आउँदो दिनमा गाइभैंसी पालेर बस्नु ! मन्त्री बनेर पनि केही गर्न नसक्नेले फोहोर मैला टिपे जस्तो गरेर फोटो खिचाउनु बाहेक अर्थोक केही नगरेको देख्दा पो हैरान ! कुलको इज्जत राख्छ कि भनेको हुतीहारा परेछ !’

यसैबिच मन्त्री किरातीको सचिवालयले भने सम्पूर्ण हिसाबले अवैज्ञानिक ठहरिएको आयोजना सञ्चालन गर्नु राज्य दोहन मात्रै नभइ राष्ट्र घात भएको पनि बताएका छन् । 

यस्तो अभिव्यक्तिले ‘दुर्घटना निम्त्याउन सक्ने’ चेतावनी दिएको छ । मन्त्री किरातीका प्रेस सल्लाहकार राजन समीपले फेसबुकमा लेखेका छन्, ‘हिजो जति घुक्र्याउनु भो, दङ्गाउनु भो, उतानो परेर आलङ्गरी नै खेल्नु भो, छाँती पिट्नु भो, त्यतिबेला तपाईँको माग सम्बोधन गरेकै हो ! किनकि तपाईँको घुर्क्याइमा धराने जनताका निम्ति लाभका सुषुप्त आवाज थिए ! तर, अहिले जे कुरामा बालहठ प्रस्तुत गरिरहनु भएको छ, त्यो धराने जनताको निम्ति त के राज्यकै निम्ति हानिकारक छ । सम्पुर्ण हिसाबले अवैज्ञानिक ठहरिएको आयोजना सञ्चालन गर्नुभनेको त्यो राज्य दोहन मात्रै हैन राष्ट्र घात पनि हो ।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×