काठमाडौँ - ‘महाभारत’ बनाएका बलिउडका चर्चित फिल्म निर्माता तथा निर्देशक बीआर चोपडा धर्तीमा छैनन्। चोपडाको मुम्बईस्थित जुहू बङ्गला बिक्री भएको छ। २५ हजार स्क्वायर फिट जमिनमा बनेको उक्त बङ्गला जुहु क्षेत्रमा १ एकड जमिनमा फैलिएको छ।
जसलाई २ अरब ९२ करोड नेपाली रुपैयाँमा बेचिएको छ। घर जग्गा बिक्री गर्नेले रवि चोपडाकी श्रीमती तथा बीआर चोपडाकी बुहारी रेणु चोपडाबाट बङ्गला किनेका छन्।
बीआर चोपडाको बङ्गला के रहेजा कर्पोरेसनले २ अरब ९२ करोड ४१ लाखमा किनेको र सम्झौतापछि कम्पनीले करिब १७ करोड को कर तिरेको बताइएको छ। त्यहाँ प्रिमियम आवासीय परियोजना निर्माण गर्ने योजना रहेको छ।
२२ अप्रिल १९१४ मा जन्मेका बलदेव राज चोपडाको फिल्ममा रुचि फिल्म पत्रकारका रूपमा सुरु भयो। विभाजनपछि उनी दिल्ली र त्यसपछि मुम्बई गए। उनले सिने हेराल्ड जर्नलका लागि फिल्म समीक्षा लेखेर आफ्नो करियर सुरु गरेका थिए।
सन् १९४९ मा उनले आफ्नो पहिलो फिल्म ‘करवत’ बनाए, जुन फ्लप भएको थियो। सन् १९५१ मा उनले फिल्म ‘अफसाना’ को निर्माता र निर्देशकको रूपमा पुनः भाग्य जाँचे जुन बक्स अफिसमा मेगा हिट भयो।
१९५५ मा, उनले आफ्नै प्रोडक्शन हाउस बीआर फिल्म्स स्थापना गरे। उनको पहिलो फिल्म ‘नया दौर’ यस प्रोडक्सन हाउसका लागि निकै सफल भएको थियो। उनको २००८ मा मृत्यु भएको हो।
बीआर चोपडाले टिभी शो ‘महाभारत’ बनाएका थिए, जसले निकै फ्यान बटुलेको थियो। फ्लप फिल्मका कारण उनको प्रोडक्सन हाउस घाटामा गएको थियो। सन् २०१३ मा उनका छोराले यो सम्पत्ति धेरै ऋणीबाट फिर्ता गराए। बीआर चोपडाको बङ्गला रहेको क्षेत्रमा जग्गाको भाउ ६० हजारदेखि ६५ हजार रुपैयाँ प्रति वर्ग फिट रहेको समाचारमा जनाइएको छ।