बंगलादेशलाई चोटले सताउँदैः लिटन दास एक महिनाका लागि मैदान बाहिर

काठमाडौँ - ब्याटिङ गर्ने क्रममा ‘ह्यामस्ट्रिङ’मा चोट लागेका विकेटकिपर ब्याट्सम्यान लिटन दास एक महिनाका लागि मैदानबाट बाहिर हुने भएका छन्।

हरारेमा बंगलादेश र जिम्बाब्वेबीचको पहिलो एकदिवसीय खेलमा ८१ रनमा खेलिरहेका लिटनले फास्ट सिंगल लिएपछि खुट्टाको पछाडिको भागमा दुखाई महसुस गरेका थिए। त्यसपछि उनलाई मैदानबाट बाहिर निकाल्न ‘स्ट्रेचर’ प्रयोग गरिएको थियो।

बंगलादेश ५ विकेटले पराजित भएपछि टोलीका फिजियो मुजद्दाद अल्फा सानीले उनलाई चोट लागेको पुष्टि गरेका छन्। उनले भने, ‘पहिलो एकदिवसीय खेलमा ब्याटिङ गर्ने क्रममा लिटन दासको ह्यामस्ट्रिङमा चोट लागेको थियो। हामीले तुरुन्तै उनलाई स्क्यानका लागि पठायौं र उनलाई ग्रेड २ मांसपेशीमा तनाव भएको थाहा भयो।’

उनका अनुसार यस्तो चोटबाट निको हुन ३ देखि ४ हप्ता लाग्छ। उनी यो सिरिजमा अब खेल्ने छैनन्। लिटनको चोटले एसिया कप गुमाउने सम्भावना पनि बढेको छ। बंगलादेशको उद्घाटन खेल अगस्ट ३० मा अफगानिस्तान र १ सेप्टेम्बरमा श्रीलंकासँग हुनेछ।

शुक्रबारको खेलमा थप २ बंगलादेशी खेलाडी पनि घाइते भएका छन्। ब्याटिङका क्रममा औंलामा चोट लागेका मुस्फिकुर रहिम फिल्डमा आएनन्। अर्कोतर्फ, शरिफुल इस्लाम पनि घाइते भएका छन्।

इनोसेन्ट काइयाले प्रहार गरेको एरियल शट बल सिधै उनको घुँडामा ठोकिन पुगेको थियो। मैदान छाडेपछि शरिफुल फर्किएर ओभर बलिङ गर्ने प्रयास गरे पनि दुखाईका कारण फेरि उपचारका लागि ‘ड्रेसिङ रुम’ गएका थिए।

‘मुस्फिकको औंलामा चोट लागेको छ, तर खास केही समस्या छैन। बलले लाग्दा शोरिफुल बेहोस भएका थिए। भोलिसम्म उनी ठिक हुने छन् भन्नेमा आशा गर्छु,’ सानीले भनेका छन्।

यसअघि पनि नुरुल हसन औंलाको चोटका कारण गत हप्ता दोस्रो टी-२० खेलबाट बाहिरिएपछि बंगलादेशलाई यो भ्रमणमा धक्का लागेको थियो। एसिया कपका लागि नुरुल फिट हुनेमा पनि शंका छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×