काठमाडौँ - घरेलु टाेली वेस्ट इण्डिजविरूद्धको एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा भारत विजयी भएको छ। उसले गएराति ३ रनको रोमाञ्चक जित हात पारेको हो।
३०९ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले ५० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाउँदै ३०५ रन मात्र बनायो। वेस्ट इण्डिजका लागि सर्वाधिक ७५ रनकाे याेगदान दिएका काइल मायर्सले ६८ बलमा १० चाैका र १ छक्का प्रहार गरेका थिए।
ब्रेन्डन किङ्गले ६६ बलमा समान २ चाैका र २ छक्कासहित ५४, सम्रराह ब्रुक्सले ४६, अविजित रहेका राेमारियाे सेफर्डले ३९ र अकिल हुसेनले ३२ तथा कप्तान निकाेलस पुरनले २५ रन जाेडेका थिए।
भारतका लागि महम्मद सिराज, युजवेन्द्र चहल र शार्दुल ठाकुरले १/ १ विकेट लिए। यसअघि ट्रिनिडाडकाे पाेर्ट अफ स्पेनस्थित क्विन्स पार्क ओभलमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै ३०८ रन बनाएकाे थियाे।
भारतका लागि कप्तान शिखर धवनले ९७ रनकाे उत्कृष्ट पारी खेलेका थिए। ९९ बलकाे सामना गरेका उनले १० चाैका र ३ छक्का प्रहार गरे। ६४ रन बनाएका शुभमन गिलले ५३ बलमा ६ चाैका र २ छक्का प्रहार गरेका थिए। श्रेयस अय्यरले ५७ बलमा ५ चाैका र २ छक्कासहित ५४, दीपक हुडाले २७, अक्षर पटेलले २१, सूर्यकुमार यादवले १२ र सञ्जु स्यामसनले १२ रन जाेडेका थिए।
वेस्ट इण्डिजका लागि अल्जारी जाेसेफ र गुडाकेश माेतीले २ /२ तथा राेमारियाे सेफर्ड र अकिल हुसेनले १/ १ विकेट हात पारे। याे जितसँगै भारतले ३ खेलकाे सिरिजमा १-० काे अग्रता लिएकाे छ। दोस्रो खेल भाेली हुनेछ।