‘पानीफोटो’ असफलताको सन्देश: अब गम्भीर होइन, विशेष फिल्मको जरुरी

काठमाडौँ - ‘कबड्डी ४’पछि घरेलु बक्स अफिसमा देखिएको संकट तत्कालै थामिने संकेत छैन। अहिले प्रदर्शन भइरहेका २ फिल्म ‘पानीफोटो’ र ‘म’ले औसत रेटिङ प्राप्त गरे पनि दुवैको व्यावसायिक प्रस्तुति निराशजनक रहेको छ।

वितरक र निर्माता दुवै कमाइ सार्वजनिक गर्न तयार छैनन्। रिलिजअघि ‘हाइप’ बटुलेको फिल्म पानीफोटोले अपेक्षित ओपनिङ गर्न नसकेपछि के गम्भीर फिल्मप्रति दर्शकको आकर्षण नभएकै हो भन्ने प्रश्न तेर्सिएको छ।

‘पानीफोटो’अघि रिलिज भएका उस्तै जनराका २ फिल्म चिसो मान्छे र दोखले पनि आफूलाई सफल तुल्याउन सकेनन्। ‘पानीफोटो’को अंकगणितीय असफलताले प्रदर्शनको तयारीमा रहेका ‘प्रकाश’ र ‘राधा’तिर पनि प्रश्न सोझिएको छ।

‘चिसो मान्छे’, ‘पानीफोटो’ र ‘दोख’को असफलताको अर्थ के हो ? यसले राधा र प्रकाशलाई कस्तो सन्देश दिन्छ ? समीक्षक तथा निर्देशक मनोज पण्डित भन्छन्, ‘अब गम्भीर होइन, विशेष फिल्मको जरुरी रहेको छ। दर्शकले विशेष फिल्म हेर्न चाहेका छन्।’

विशेष भन्नुको अर्थ न्यारेटिभ र यसको प्राविधिक पक्षमा कुनै विशेष हुनुपर्यो। ‘जस्तै कबड्डी चल्नु पछाडि पात्र र संवाद विशेष थिए। काजीको बिहे कहिले हुन्छ भन्ने सरल प्रश्नले मान्छेलाई जोडेको थियो। तर गम्भीर भनिएका फिल्ममा कुनै विशेष चीज थिएन,’ उनी भन्छन्।

‘कबड्डी’ निर्देशक रामबाबु गुरुङ आफ्नो फिल्म हिट हुनु पछाडि पात्र र संवाद नै मुख्य पक्ष रहेको बताउँछन्। ‘पात्र, संवाद र स्थानीयताले दर्शकलाई तानेको हुनुपर्छ। दर्शक इन्टरटेन हुन चाहन्छन्,’ गुरुङको विश्लेषण छ।

‘हामीले यस्तो कथा नभने हाम्रो कथा कसले आएर भन्ने त ?’ पानीफोटो निर्देशक खगेन्द्र लामिछानेको प्रश्न छ, ‘हाम्रो कथा हामीले नै भन्नुपर्छ। हाम्रो कथा कोही आएर भनिंदैन,’ बक्स अफिस नतिजा मात्र सबथोक भएर कलात्मक पक्ष पनि महत्वपूर्ण हुने खगेन्द्र बताउँछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×