काठमाडौँ - इरानले कतारमा जारी फिफा विश्वकप फुटबलमा पहिलो जित निकालेको छ। शुक्रबार भएको खेलमा १० खेलाडीमा समेटिएको वेल्सलाई २-० गोल अन्तरले हराउँदै इरानले पहिलो जित निकालेको हो।
अहमद बिन अलि स्टेडियममा इरानको जितमा रौजबेह चेस्मी र रामिन रिजाइनले १-१ गोल गरेका थिए। इरानले दुबै गोल खेलको इन्जुरी समयमा गरेको हो। खेलको ९८ औं मिनेटमा चेस्मीले गोल गर्दै इरानलाई सुरुआती अग्रता दिलाएका थिए।
त्यसपछि खेलको १०१ औं मिनेटमा रामिनले गोल गर्दै इरानलाई २-० को रोमान्चक जित दिलाए। यस्तै खेलको ८६ औं मिनेटमा वेल्स १० खेलाडीमा समेटियो। वेल्सका गोलकिपर वायन हेनेसीलाई रातो कार्ड दिदै मैदान बाहिरिएका थिए।
जितसँगै समूह बीको इरानले २ खेलमा ३ अंक जोडेको छ। इरानले नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ।
इरान इङ्ल्यान्डसँग ६-२ ले पराजित भएको थियो। पराजित वेल्सले २ खेलमा १ अंक जोडेको छ।