रियाल मड्रिड क्लब अमेरिकासँग बराबरीमा रोकियो

काठमाडौँ - युरोपेली च्याम्पियन रियाल मड्रिड प्रि-सिजनको मैत्रीपूर्ण खेलमा मेक्सिकन टोली क्लब अमेरिकासँग बराबरीमा रोकिएको छ। रियाल मड्रिड २-२ को बराबरीमा रोकिँदा करीम बेन्जेमा र इडेन हाजार्डले १-१ गोल गरेका थिए।

रियाल खेलको पाँचौ मिनेटमा नै पछि परेको थियो। हेनरी मार्टिनले क्लब अमेरिकालाई अग्रता दिलाएका थिए। उनले पेनाल्टी क्षेत्र भित्र गरेको प्रहार गोलरक्षक आन्द्रीए लुनिनले बचाउन सकेका थिएनन्। त्यसपछि रियालले एकपछि अर्को आक्रमण बुनेपनि अमेरिकाका गोलरक्षक गिलेर्मे ओचोआले केही राम्रो बचाउ गरेका थिए।

रियालले २२ औं मिनेटमा बराबरी गोल फर्काएको थियो। चोटबाट ठिक भएपछि पहिलो पटक मैदान उत्रेका बेन्जेमाले सुन्दर गोल गरेका थिए। उनले मार्को एसेन्सियोसँग वन टु पास खेल्दै पेनाल्टी क्षेत्र बाहिरबाट दर्शनीय गोल गरेका थिए।

दोस्रो हाफमा रियालले हाजार्डको गोलमा अग्रता लिएको थियो। क्लब अमेरिकाका खेलाडीले पेनाल्टी क्षेत्रभित्र लुकास भाज्केजलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए। हाजार्डले त्यसलाई गोलमा परिणत गर्दै रियाललाई अघि बढाएका थिए।

तर खेलको १० मिनेट बाँकी हुँदा खेल पुन: बराबरीमा आएको थियो। क्लब अमेरिकाका अल्भारो फिदाल्गोले पेनाल्टीमा गोल गरे। उनको पहिलो प्रहार गोलरक्षक लुनिनले बचाएपनि रेफ्रीले गोलरक्षक अघि बढेका कारण पुन: प्रहार गर्न लगाएका थिए।

रियालको प्रि-सिजनमा यो दोस्रो खेल हो। पहिलो खेलमा बार्सिलोनासँग १-० को हार व्यहोरेको थियो। रियालले अब अमेरिका भ्रमणको अन्तिम खेल ३० जुलाईमा युभेन्टससँग खेल्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×