काठमाडौँ - अभिनेता रोहित रुम्बाले उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका छन्। चौथो ‘नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल २०२२’ मा उनले फिल्म ‘लाखे’ बाट सो अवार्ड प्राप्त गरेका हुन्।
२१ वर्षको अभिनय करियरमा रोहितले पहिलोपटक अवार्ड प्राप्त गरेका हुन्। जसको खुसी उनले सामाजिक सञ्जाल मार्फत शेयर गरेका छन्। अवार्डले अझ काममा दत्तचित्त भएर लाग्न प्रेरणा मिलेको उनले बताएका छन्।
‘२१ वर्षको अभिनय करियरमा उत्कृष्ट अभिनेताको अवार्ड हात पर्यो’, उनले अगाडि भने ‘फिल्म ‘लाखे’ टिम र निर्देशक सम्राट बस्नेत प्रति आभारी छु।’
लव ईन चाईना बोर्डर, रुद्राक्ष, तोरी लाहुरे, उफ यो मन, धुम २, रघु, नेप्टे लगायत दर्जनौ फिल्म अभिनय गरेका रोहितले टेलिचलचित्रमा पनि अभिनय गरेका छन्। स्टार बन्ने सपना बोकेर फिल्म क्षेत्रमा भित्रिएका उनी करातेमा ‘बल्याकबेल्ट’ समेत हुन्। उनी अभिनित पछिल्लो फिल्म ‘लाखे’ गत भदौमा प्रदर्शनमा आएको थियो।
चलचित्र विकास बोर्डमा आयोजित महोत्सवमा गत २२ मंसिरदेखि सुरु भई ३ दिनसम्म चलेको थियो। जसमा ३४ देशका विभिन्न विधाका ७२ अन्तर्राष्ट्रिय फिल्म तथा नेपालका ३४ फिल्म सहभागी भएका थिए।