भारत। बलिउड अभिनेता अमिताभ बच्चन र दक्षिण भारतीय कलाकार 'बाहुबली' प्रभास एकसाथ चलचित्रमा देखिने भएका छन्। चलचित्रको छायांकन पनि सुरु भइसकेको छ। उक्त बहुभाषी साइन्स फिक्सन चलचित्रको आधिकारिक नाम भने अहिलेसम्म घोषणा गरिएको छैन। शनिबार चलचित्र छायांकनको दोस्रो सेडुलको पहिलो दिन अमिताभ र प्रभासले एकसाथ काम गरेका छन्। त्यसको अनुभव बताउदै अमिताभले प्रभासको प्रशंसा गरेका छन्। उनले प्रभासलाई प्रतिभाशाली र विनम्र कलाकार बताएक छन्।
प्रभासले पनि वरिष्ठ कलाकार अमिताभ बच्चनसँग काम गर्नु आफ्नो लागि सपना जस्तो भएको जनाएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार प्रभास र अमिताभको यो चलचित्र आउन लागेको ठुलो बजेटको चलचित्रमध्ये एक रहनेछ।
चलचित्रको पहिलो सेडुलको छायांकन गत वर्षको डिसेम्बरमा गरिएको थियो। नाग अश्विनको निर्देशन रहेको चलचित्रमा अमिताभ र प्रभासका अलावा दीपिका पादुकोण पनि मुख्य भूमिकामा देखिनेछिन्।