काठमाडौँ - नेपालीले विदेशमा काम गरेर पठाएको विप्रेषणबाट अर्थतन्त्रलाई ठुलो भरथेग त भइरहेकै छ तर नेपाल विप्रेषण ल्याउने मुलुक मात्र भने होइन। नेपालमै कमाएर विदेशीले बर्सेनि अर्बौँ रुपियाँ पनि लगिरहेका छन्। विदेशी नागरिकले नेपालमा आम्दानी गरेर आर्थिक वर्ष २०७८/७९ मा मात्रै करिब आठ अर्ब रुपियाँ लगेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क छ। राष्ट्र बैङ्कका अनुसार यो रकम औपचारिक माध्यमबाट गएको विप्रेषण मात्रै हो।
विश्व बैङ्कले पनि सन् २०२० मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालबाट त्यतिबेला विप्रेषणका रूपमा चार करोड ४१ लाख (करिब साढे पाँच अर्ब रुपियाँ) अमेरिकी डलर बाहिरिएको छ। त्यसअघि सन् २०१९ मा छ करोड, २०१८ मा चार करोड ९४ लाख, २०१७ मा तीन करोड ३४ लाख, २०१६ मा दुुई करोड र २०१५ मा ९० लाख अमेरिकी डलर रहेको विश्व बैङ्कको तथ्याङ्क छ। यद्यपि औपचारिक माध्यमबाट बाहिरिएकोभन्दा धेरै रकम अनौपचारिक माध्यमबाट बाहिरिइरहेको अनुमान राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्टको छ।
गोरखापत्र दैनिकबाट