काठमाडौँ - दुर्लुङकोटको पर्यटन प्रवर्द्धनमा पर्यटन सम्बद्ध सङ्घ संस्थाले चासो दिएका छन्।
नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले हालै गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थामन्त्री मणिभद्र शर्मा कँडेल, नेपाल पर्यटन बोर्ड, पर्यटन सम्बद्ध सङ्घ संस्थाका प्रतिनिधि, सञ्चारकर्मीसहित दुर्लुङकोटको प्रवद्र्धनात्मक भ्रमण सम्पन्न गरेको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए। “दुर्लुङकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिन्छ”, उनले भने, “स्थानीय जागरुकता बढेमा निजी तथा सरकारी सबै निकायको सामूहिक साथ र सहयोगबाट यसलाई राम्रो पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न सकिने पक्का छ।”
दुर्लुङको राम्रो प्रचारप्रसार गर्न सके यो ठाउँ धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रुपमा स्थापित बन्न सक्ने गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थामन्त्री मणिभद्र शर्मा कँडेलले बताएका छन्। पर्यटकीय विकाससँगै यहाँका उत्पादनलाई पनि त्यससँग जोड्न सकिने बताउँदै उनले पछिल्ला वर्षमा सदरमुकाम कुश्मा बजारदेखि यातायातको सहज सुविधा भएका कारण पनि त्यसले पर्यटकलाई आकर्षित गर्न थप सहयोग पुग्ने बताए। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख काशीराज भण्डारीले दुर्लुङकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताउँदै यसको प्रवर्द्धनका लागि स्थानीय जागरुकताको आवश्यकता औंल्याएका छन्।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोना प्रभावित पर्यटनलाई पुर्नउत्थान गर्न आन्तरिक पर्यटनको विकास आवश्यक भएको बताउँदै धार्मिक एवं ऐतिहासिक महत्वकास्थललाई पर्यटनसँग जोड्नु अपरिहार्य भएको बताए। कुष्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले दुर्लङकोटसहित कुष्माका प्रमुख पर्यटकीय गन्तव्यको विकास आफूहरूको प्राथमिकतामा परेको बताउँछन्। दुर्लुङकोटसँगै यहाँ आसपासका चनौटे गाउँको तामाखानी गुफा, क्यानोनिङ, चनौटे होमस्टे तथा आम्वोट–दुर्लुङ–हलहले–क्याङ–घोरेपानी पदमार्ग आदिको पर्यटन बजारमा प्रचारप्रसार आवश्यक रहेको स्थानीयवासी बताउँछन्।
दुर्लुङस्थित चनौटे गाउँमा चार वर्ष अघिदेखि होमस्टे सञ्चालनमा आएको र गाउँ नजिकै क्यानोनिङ सञ्चालनमा आएको स्थानीय महिला सुनकुमारी गुरुङले जानकारी दिए।