काठमाडौँ - शुक्रबार नेपाली बक्स अफिसमा चार नयाँ फिल्म प्रदर्शनमा आएका छन्। २ नेपाली र २ भारतीय फिल्म रिलिज भएका छन्। आकाश श्रेष्ठ, छुल्ठिम गुरुङ र पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘सम्झना बिर्सना’लाई निमेष प्रधानले निर्देशन गरेका हुन्।
१ घण्टा ४२ मिनेट लामो फिल्मले पूर्वी नेपालको चियाबारीमा काम गर्ने मजदुरको समस्यालाई चित्रण गरेको छ। यो सँगै त्रिकोणात्मक लभस्टोरी पनि यसमा प्रस्तुत गरिएको छ।
केकी अधिकारीको मुख्य भूमिका रहेको कमेडी फिल्म ‘सिल्ली फोर’ले हिरोइन बन्न चाहने चार पात्रको कथा भन्छ। राजबहादुर साने निर्देशित फिल्ममा रविन्द्र झा र राजाराम पौडेलको पनि अभिनय रहेको छ।
शुक्रबारै हिन्दी भाषाको फिल्म ‘स्याबास मिठू’ पनि रिलिज भएको छ। भारतीय महिला क्रिकेट कप्तान मिथाली राजको जीवनमा आधारित यो फिल्ममा तापसी पन्नु र विजयराजको मुख्य भूमिका रहेको छ। सुरजीत मुखर्जी निर्देशित फिल्मको लम्बाई २ घण्टा ३६ मिनेट छ। यसलाई बायोग्राफी, ड्रामा र स्पोर्ट्स जनरामा राखिएको छ।
यस्तै विक्रम भट्ट निर्देशित बलिउड फिल्म ‘जुदा हो के भी’ समेत प्रदर्शनमा आएको छ। २ घण्टा १ मिनेट लामो यो फिल्म हरर जनरामा आधारित रहेको छ।
फिल्ममा अक्षय ओबराय, रुसद रानाको मुख्य भूमिका रहेको छ। शुक्रबारबाट थोर : लभ एन्ड थन्डर नेपाली हलमा दोस्रो सातामा प्रदर्शन भइरहेको छ। एनिमेटेड फिल्म ‘मिनिअन्स : द राइज अफ गुरु’, कबड्डी ४ र जुगजुग जिओ पनि प्रदर्शनरत छन्।