आमा समूहलाई पच्चीस लाख मूल्य बराबरको जग्गा दान

तनहूँ । व्यास नगरपालिका–१ गल्बुबेँसी घर भई हाल बेलायतमा बस्दै आउनुभएका हरिबहादुर हडखलेले यहाँको एक आमा समूहलाई जग्गादान गरेका छन् ।

सोही वडास्थित नवआदर्श आमा समूहको भवन निर्माणका लागि उनले करिब २५ लाख मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गरेका हुन् । स्थानीयस्तरमा सक्रियरुपमा सामाजिक क्षेत्रमा काम गर्दै आएको आमा समूहको क्रियाकलापबाट आफू प्रभावित भई समूहको भवन निर्माणका लागि आफूले जग्गा उपलब्ध गराएको हडखलेले बताए । 

हडखलेका परिवार लामो समयदेखि बेलायतको लण्डनमा बस्दै आउनुभएको थियो । आमा समूहको भवन निर्माणका लागि आफूले पिता पिताम्बर हडखलेको स्मृतिमा निःशुल्करुपमा जग्गा दिन पाउँदा ज्यादै खुसी लागेको उहाँले बताए। दुई हप्ताअघि पारिवारिक कामले नेपाल आएको अवसरमा उनले सो जग्गा प्रदान गर्नुभएको आमा समूहका कानूनी सल्लाहकार तथा जग्गादाताका दाजु अधिवक्ता डम्बरदेव हडखलेले जानकारी दिए। 

समाजसेवीको रुपमा परिचित हडखले परिवारले आमा समूहलाई तीनदेखि चार आनासम्म दिने भनी आश्वासन दिएका हुन्। समाजमा रहेर केही योगदान गर्नुपर्दछ भन्ने सोचका साथ हड्खलेले जग्गा उपलब्ध गराउने प्रतिबद्धताअनुरुप मालपोत कार्यालयमा गई जग्गा पास गरी दिनुभएको आमा समूहकी अध्यक्ष सावित्री हडखलेले बताए ।  

विगत २३ वर्ष अगाडि संस्थापक अध्यक्ष रेनुका हडखलेको अध्यक्षतामा उक्त आमा समूह जिल्ला प्रशासन कार्यालय तनहुँमा दर्ता गरिएको थियो । तिहारमा हुने देउसी भैलो, स्थानीयको घरमा हुने बिवाह व्रतबन्ध, पूजाआजा, लाहुरे आएका अवस्थामा नाचगान गरी प्राप्त हुने रकमले सामाजिक क्षेत्रमा काम गर्दै आएका छन् ।

विविध क्रियाकलापबाट सङ्कलित रकमबाट प्रतीक्षालय निर्माण गर्नुका साथै गाउँमा रहेको अकला मन्दिर परिसरमा अकला मन्दिर, महादेव मन्दिर, दुई वटा ठूला ट्रष्ट हल निर्माण गरिएको समूहकी अध्यक्ष हडखलेले बताए। समय समयमा टोल छिमेकमा सचेतनामूलक कार्यक्रम, सरसफाइ र मनोरञ्जनात्मक कार्यक्रमसमेत गर्दै आइरहेको उक्त समूहले जनाएको छ । 

जग्गा दाताकी आमा गङ्गाकुमारी उक्त आमा समूहको ज्येष्ठ सदस्यका रुपमा रहनुभएको छ भने समूहबाट हुने हरेक कार्यमा सक्रियरुपमा सहभागी हुँदै आए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×