धनकुटा - धनकुटा नगरपालिका ९ स्थित मूलघाटबाट प्रहरीले ९ केजी ५० ग्राम गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। छिन्ताङबाट को १ ज ३३२३ नम्बरको जिपमा राखेर धरानतर्फ लैजाँदै गरेको अवस्थामा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
सहिदभूमि २ का उपेन्द्र विसुंखेको झोलामा रहेको गाँजा मूलघाटस्थित प्रहरी चेक पोष्टबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डीएसपी) चिरञ्जीवी दाहालले जानकारी दिएका छन्।
प्रहरी सहायक निरीक्षक कप्लेश्वर स्वर्णकारको नेतृत्वको टोलीले गाडी जाँच गर्नेक्रममा उक्त परिमाणको गाँजा बरामद गरेको हो। गाडी चालक सहिदभूमि गापा ३ का लोकेन्द्र राई र गाँजा बरामद गरिएका व्यक्ति विसुंखेलाई जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखिएको छ। थप अनुसन्धान गरी लागूऔषध नियन्त्रण ऐनअन्तर्गत उनिहरुमाथि जिल्ला अदालतमा मुद्दा दायर गरिने प्रहरीले जनाएको छ।