काठमाडौं । सरकारले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिने / नदिने अधिकार नितान्त अमेरिकी दूतावासको भएको बताएको छ । सरकारकी प्रवक्ता रेखा शर्माले क्रिकेटर सन्दीप लामिछानेलाई सरकारले पहल गरे पनि भिसा दिने / नदिने अधिकार दूतावासको भएको बताइन् ।
‘क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्न अमेरिकाको भिसा प्रदान गर्नका लागि सरकारले पहल गरे पनि भिसा दिने वा नदिने अधिकार नितान्त दूतावासको हो,’ उनले भनिन् । परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाउँदा समेत अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । गत बुधबार अन्तर्वार्ताका लागि दूतावासका पुगेका सन्दीपको दोस्रो पटक भिसा अस्वीकृत भएको थियो ।
नेपाल क्रिकेट संघ (क्यान) ले पनि विज्ञप्ति जारी गरेर सरकार र आईसीसीले समेत समन्वय गर्दासमेत सन्दीपलाई अमेरिकी दूतावासले भिसा नदिएको स्पष्ट पारेको थियो । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आईसीसीले सन्दीप लामिछाने नेपालको १५ सदस्यीय टोलीमा राखेको जानकारी गराउँदा समेत भिसा नपाएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । टी–२० विश्वकपको समूह ‘डी ’ मा रहेको नेपालले नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्दैछ । नेपालको पहिलो खेलमा जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध हुँदैछ ।