सुहाङ भन्छन्–मलाई मत दिए बापत कहिल्यै पनि पछुताउनु पर्ने छैन

काठमाडौं । इलाम–२ बाट चुनाव जितेपछि नेकपा एमालेका सुहाङ नेम्वाङले आफूलाई मत दिएबापत कहिल्यै पनि पछुताउनु नपर्ने बताएका छन् । सामाजिक सञ्जालमा एक सन्देश लेख्दै सुहाङले आफ्ना पिता सुबास नेम्वाङले देखाएको निष्ठाको बाटो र दिएर गएको इमानको उज्यालोलाई शीरमा राखेर ‘समृद्ध इलामः सुखी इलामेली’ को साझा सपना र संकल्प पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले भनेका छन्–
हार्दिक आभार तथा धन्यवाद! अति आदरणीय इलामेली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु ! इलाम क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य पदमा आफ्नो अमूल्य मत दिएर अत्याधिक मतले विजय गराउनुभएकोमा इलाम–२ का अति आदरणीय मतदाताहरुप्रति हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु । हजुरहरुको मनमा रहेको हामीप्रतिको अगाध माया, गहिरो विश्वास र भरोसालाई मतमा परिणत गरेर आफ्नो प्रतिनिधिको रुपमा मलाई छनोट गर्नुभएको छ ।

हाम्रा अग्रजहरुले गर्नुभएको कष्टसाध्य संघर्ष, बलिदान र असाधारण त्यागको जगमा आज हामी उभिएका छौं । इलामको माटोमा जन्मिएर पञ्चायती व्यवस्थाविरुद्ध देशभरी क्रान्तिको उज्यालो फैलाउने आदरणीय शहीदहरु रत्नकुमार वान्तवा, बमप्रसाद वान्तवाप्रति हार्दिक श्रद्धा–सुमन व्यक्त गर्दछु। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणको नेतृत्वकर्ता इलामेली जनताका प्रिय नेता मेरो बुवा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धा–सुमन व्यक्त गर्दछु ।

सर्वप्रथम उहाँले देखाउनु भएको निष्ठाको बाटो र दिएर जानुभएको इमानको उज्यालोलाई शिरमा राखेर ‘समृद्ध इलाम : सुखी इलामेली’ हाम्रो साझा सपना र संकल्प पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्न चहान्छु । इलामको माटोको कसम खाएर म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु, ‘मलाई मत दिएबापत तपाईँहरुले कहिल्यै पनि पछुताउनुपर्ने छैन ।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×