सुर्खेत - जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित सुर्खेतबाट तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीले गुर्भाकोट नगरपालिका–८ सुर्खेतका ३२ वर्षीय लक्ष्मण परियार र सोही नगर वडा नं ९ का ३० वर्षीय रमेश ओलीलाई पक्राउ गरेको हो। सोमबार नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको सवारीसाधन म्याजिक रोकी जाँच गर्ने क्रममा परियार र ओलीको साथमा तीन ग्राम ४६० मिलीग्राम ब्राउन सुगर भेटेपछि पक्राउ गरिएको प्रहरी सहायक निरीक्षक जीवानन्द दाहालले जानकारी दिए।
उनका अनुसार दुवैलाई भेरीगङ्गा नगरपालिका–१० तोलीखोला प्रहरी चेकपोष्ट नजिकै सार्वजनिक पक्की सडक जाँच गरिएको थियो। बरामद ब्राउन सुगरसहित प्रतिवादी परियार र थापालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्षमा राखेर अनुसन्धान थालिएको प्रहरी सहायक निरीक्षक दाहालले बताए।
त्यस्तै प्रहरीले वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतका गोविन्द राईलाई पनि पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतका वडाध्यक्ष रत्नबहादुर बुढा, सोही वडा निवासी बिष्णु गौतम, शिवराम चौधरी, भक्तवीर चुनारा, गणेशबहादुर थापा, कमल चौधरी, बमबहादुर बिसी र नरगैया चौधरीको खेतमा थुपारी राखेको परालको थुप्रामा आगो लगाएको आरोपमा राईलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।