अत्यधिक वर्षाले बागलुङका किसानलाई नोक्सानी

बागलुङ - अत्यधिक वर्षाले बागलुङका किसानलाई नोक्सानी भएको छ। लगातारको वर्षाले बागलुङमा पाक्नै लागेको धानबाली हावाहुरीले ढलाएर तथा पानीले भिजाएर क्षति पुर्याएको छ। 

कृषि ज्ञान केन्द्र बागलुङका अनुसार बागलुङको केही धानबाली हुने स्थानमा धान ढलेको छ भने बाढीले कागती र किबीखेतीमा समेत क्षति पुर्‍याएको छ। यस वर्ष छ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो। धान उत्पादन घट्ने कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए। “हामीले सबै पालिकामा लगातारको वर्षाले पुर्‍याएको क्षतिको विवरण सङ्कलन गर्न भनेका छौँ, कृषि मन्त्रालयले समेत क्षतिको विवरण पठाउन ताकेता गरेको छ”, उनले भने, “हालसम्म निसीखोलाको कागती र किबीखेतीमा क्षति पुर्याएको छ भने राम्रो धानबाली हुने क्षेत्रमा केही धान ढलेको पाइएको छ।” 

निसीखोला गाउँपालिका–४ स्थित तुलसीराम रेग्मीको किबी फार्ममा बाढी पसेर क्षति पुर्‍याएको छ भने निसीखोलाकै रमिलाल क्षेत्रीको कागतीको बगैँचा बगाएको छ। जैमिनी नगरपालिका, बरेङ गाउँपालिका, गलकोट नगरपालिका र बागलुङ नगरपालिकाका केही क्षेत्रमा धानबाली पानीले ढलाएको छ। अत्यधिक वर्षाका कारण धानबाली ढलेको कृषकले बताएका छन्। बागलुङको दक्षिणि क्षेत्र जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा लगातार परेको वर्षाका कारण हिउँदे बालीमा क्षति पुर्याएको छ। बाला पसाउन लागेको धान र कोदोबाली तथा तरकारी बालीमा नोक्सानी पुर्‍याएको जैमिनी–१० किटेनीका नरबहादुर छन्त्यालले बताए।

बागलुङमा गत वर्ष पाँच हजार आठ सय ५० हेक्टर जमिनमा धानखेती गरिएको थियो भने यो वर्ष छ हजार हेक्टर जमिनमा धानखेती गरिएको छ। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×