काठमाडौँ - यूइएफए च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्ट्स पराजित भएको छ। समूह ‘एच’अन्तर्गत गएरातिको खेलमा युभेन्टस इजरायली क्लब मक्काबी हाइफासँग २-० ले पराजित भएको हो।
घरेलु टोली हाइफालाई जित दिलाउन दुवै गोल ओमेर अट्जिलीले गरेका थिए। सामी ओफेर स्टेडियममा खेलको सातौं मिनेटमा ओमेरले गोल गर्दै हाइफालाई अग्रता दिलाएका थिए।
४२ औं मिनेटमा ओमेरले व्यक्तिगत दोस्रो गोल गरेपछि घरेलु टोली पहिलो हाफमा २–० ले अघि बढ्यो। दोस्रो हाफमा थप गोल नस्किन नसक्दा हाइफाले २-० को सहज जित निकालेको हो।
योसँगै प्रतियोगितामा पहिलो जित हात पारेको हाइफा ४ खेलमा ३ अंकका साथ पुछरमा रहँदा समान खेलबाट समान अंक जोडेको युभेन्ट्स तेस्रो स्थानमा रहेको छ।