काठमाडौँ - धौलागिरि क्षेत्र पर्यटकीय गन्तव्यस्थलका रूपमा विकसित हुँदै गएको छ।
साविकको धौलागिरि अञ्चलका म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वतमा पछिल्लो एक दशकमा दुई दर्जनभन्दा बढी मानवनिर्मित र प्राकृतिक पर्यटकीयस्थलको पहिचान, व्यवस्थापन र निर्माण भएपछि यस क्षेत्रले पर्यटन विकासमा फड्को मार्दै जान थालेको हो। कास्कीको नयाँ पुल तरेपछि सुरु हुने धौलागिरि क्षेत्रमा अहिले दुई दर्जन बढी पर्यटकीयस्थलले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्न सफल भएका छन्। राउण्ड अन्नपूर्णको चर्चित पर्यटकीयस्थल घोडे पानीदेखि लिएर म्याग्दीको टोड्के, खयरबराह, करबाकेली, राम्चे, लभ्लीहिल, गलेश्वर, महारानी थान, ताकमकोट, ज्यामरुककोट, डढेकोट, जगन्नाथ, झाँक्रीपानी, पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने गरी निर्माण भएको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, विश्वको दोस्रो लामो जिपलाइन गुप्तेश्वर धामलगायत बागलुङ र मुस्ताङका दर्जन बढी पर्यटकीयस्थलमा पूर्वाधार निर्माण र चुस्त व्यवस्थापनले पर्यटक आकर्षित भएका हुन्।
त्यसैगरी, बागलुङ कालिका, विश्वकै लामो झोलुङ्गे पुल, पञ्चकोट, सालग्राम सङग्रहालय जस्ता मानवनिर्मित धार्मिकस्थल तथा आध्यात्मिक केन्द्रको व्यवस्थापन र प्रचारप्रसारले धौलागिरि क्षेत्रको मुहार उजिल्याउन सहयोग पुगेको स्थानीयवासीले बताएका छन्। त्यस्तै, मुस्ताङ जाने बाटोमै विश्वकै अलौकिक तीर्थस्थल गलेश्वरधाम, म्याग्दीको दानास्थित रुप्से झरनाले पनि पर्यटकलाई लोभ्याउने गरेका यस क्षेत्रका पर्यटन व्यवसायीको भनाइ रहेको छ। हिमालपारीको जिल्ला भनेर चिनिएको मुस्ताङको विविधतायुक्त भूगोल, हिमशृङ्खला, ढुम्बा ताल, कागबेनी, हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ र यहाँका रमणीयस्थलले धार्मिक तथा पर्यावरणीय पर्यटकको ध्यान खिच्न सफल भएका मुस्ताङका रोशन शेरचनले बताए।
यानीमाया, सुनिमाया, सालैजो, झ्याउरे गीत र विभिन्न संस्कार संस्कृतिले चिनिएको धौलागिरिलाई अब धार्मिक तथा पर्यटकीय गन्तव्यले पनि चिनाउन थालेको बागलुङका पत्रकार डम्मरबहादुर बुढामगरले बताए। करिब डेढवर्ष कोरोनाका कारण बन्द भएका यी गन्तव्य पुनः तङ्ग्रिन थालेका छन्। कोरोनाकाबीचमा पनि धेरै धार्मिक तथा पर्यकटीय क्षेत्रमा संरचना निर्माण भएका छन्। लगानीकर्ताले पनि यो समय पर्यटन क्षेत्रमा धेरै लगानी गरेका छन्।