पोखरा - नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा विभागीय टिम पुलिसले विजयी सुरुवात गरेको छ। साविक विजेता पुलिसले शुक्रबार पोखरा रंगशालास्थित कोर्टमा भएको उद्घाटन खेलमा कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।
पहिलो सेट २५१६ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २५-१२ र तेस्रो सेट २५-११ मा सहज जित निकाल्यो। लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा पुलिसले जितसँगै ३ अंक जोडेको छ। शुक्रबारको दोस्रो खेल गण्डकी प्रदेश र वाग्मतीबीच हुनेछ।
पुरुष भलिबलको समूह ‘ए’ मा पुलिस र कर्णाली सहित लुम्बिनी प्रदेश रहेको छ। सहभागी ११ टिमलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘बी’ मा त्रिभुवन आर्मी, प्रदेश १ र मधेस प्रदेश, समूह ‘सी’ मा एपीएफ, एनआरएनए र सुदूरपश्चिम तथा समूह ‘डी’ मा गण्डकी र वाग्मती प्रदेश छन्।
प्रतियोगितामा समूहका शीर्ष २ टिम क्वाटरफाइनल पुग्नेछन्। तालिकाअनुसार समूह ‘डी’ मा २ टिममात्र रहेकाले गण्डकी र वाग्मती सिधै क्वाटरफाइनल पुगेका छन्। दुवैले अब समूह विजेता बन्न प्रतिस्पर्धा गर्ने छन्। पुरुष भलिबलको फाइनल कात्तिक ३ मा हुनेछ।