बागलुङ - बागलुङको ताराखोलाका शहीद, बेपत्ताका परिवार तथा घाइतेले गाउँपालिकाबाट मासिक भत्ता प्राप्त गर्ने भएका छन्।
गाउँपालिकाले द्वन्द्वको क्रममा भएका शहीद, वेपत्ताका परिवार, घाइेते तथा अपाङ्गलाई मासिक भत्ता दिने भएको हो।
पालिकाले गाउँसभाबाटै नीति तथा बजेटमा भत्ता दिने कुरा समावेश गरेको छ। कार्यपालिका बैठकबाट भत्ता वितरणको नीति बनाएर पारित गरेकाले आगामी महिनादेखि शहीद तथा बेपत्ताका परिवारलाई मासिक भत्ता दिन थाल्ने गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले जानकारी दिए।
सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्षबाट २१ शहीद र २ बेपत्ता भएका थिए भने विद्रोही नेकपा माओवादी पक्षबाट ४ शहीद भएका थिए। उनीहरूका परिवारलाई मासिक १ हजार ५०० रुपैयाँका दरले भत्ता दिने निर्णय गरिएको विकले बताए।
घाइते तथा अपाङ्गताको हकमा परिचयपत्रको आधारमा जिल्ला प्रशासन र वडा कार्यालयले प्रमाणित गरेपछि ५०० देखि १ हजार रुपैयाँ भत्ता दिने निर्णय गरिएको छ।
गाउँपालिकामा ११ जना द्वन्द्वको क्रममा गम्भीर घाइते भएका थिए। पालिकाले विद्रोही तथा राज्य पक्षबाट भौतिक संरचना गुमाएका परिवारलाई रोजगारी दिने गरी नीति बनाएको छ। पालिकाले दिने हरेक रोजगारीमा यो सूचक राखिने गाउँपालिकाले जनाएको छ।