राष्ट्रियसभा निर्वाचनमा तालमेल खोज्दै प्रचण्ड, शीर्ष नेतासँग निरन्तर संवाद

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रियसभा सदस्य निर्वाचनमा चुनावी तालमेल र उम्मेदवार टुंग्याउने विषयमा आन्तरिक छलफलमा व्यस्त बनेका छन्। पार्टीसँग सम्बन्धित बाहिरी कार्यक्रमहरू स्थगित गरेर उनी एकता प्रक्रियामा आबद्ध प्रमुख नेताहरूसँग निरन्तर संवादमा जुटेका हुन्।

प्रचण्डले मंगलबार बिहान सहसंयोजक माधवकुमार नेपालसँग राष्ट्रियसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरेका थिए। दिउँसो पार्टी एकतामा जोडिएका १७ घटकका प्रमुख नेताहरूसँग थप छलफल गर्ने कार्यक्रम रहेको नेकपाका केन्द्रीय कार्यालय मुख्य सचिव गणेशमान पुनले जानकारी दिए।

उनका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार आजै टुंग्याउनुपर्ने दबाब रहेकाले प्रचण्ड बिहानैदेखि आन्तरिक छलफलमा केन्द्रित छन्।
‘राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी आन्तरिक छलफल जारी छ। दिउँसो प्रमुख नेताहरूसँग भेटघाट हुनेछ,’ पुनले भने।

प्रचण्डले यसअघि माधवकुमार नेपाल, महिन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, रञ्जिता श्रेष्ठलगायत नेताहरूसँग छलफल गरिसकेको बुझिएको छ। फागुन २० गते पदावधि सकिने १८ सिट का लागि निर्वाचन आयोगले माघ ११ गते निर्वाचन तय गरेको छ।

आयोगका अनुसार उम्मेदवारी मनोनयन दर्ता बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। सम्मानजनक चुनावी तालमेलको विषयमा प्रचण्डले कांग्रेस र एमालेका शीर्ष नेताहरूसँग पनि निरन्तर संवाद गरिरहेको नेताहरूको भनाइ छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×