तनहुँ - राष्ट्रिय परिचयपत्रका लागि तनहुँमा डेढ लाखभन्दा बढीको विवरण सङ्कलन गरिएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँ र स्थानीय तहमा सञ्चालित घुम्ती शिविरबाट एक लाख ५१ हजार आठ सय एक जनाको विवरण सङ्कलन गरिएको हो।
जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको दर्तास्थलमा विवरण दर्ताका लागि दैनिक भीड हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए। राहदानी बनाउनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएकाले पनि सर्वसाधारणको भीड हुने गरेको गैह्रेले बताए।
जिल्लाका व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिकामा वडास्तरबाटै परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको थियो। यस्तै कारागारमा रहेका कैदीबन्दीको पनि विवरण सङ्कलन गरिएको छ। जिल्ला प्रशासन कार्यालयको समन्वयमा कारागारमा रहेका कैदीबन्दीको राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलन गरिएको हो।
कारागारमा रहेको ५५ जनाको विवरण सङ्कलन गरिएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए। “कारागारभित्रै कैदीबन्दीको फोटो खिच्ने, विवरण सङ्कलन गर्ने व्यवस्था मिलाएका थियौँ”, उनले भने, “पूरा विवरण भएकामध्ये ५५ जनाको विवरण दर्ता भएको छ।”
राष्ट्रिय परिचयपत्रको विवरण बुझाउन अनलाइन पनि प्रयोग गर्न सकिन्छ। परिचयपत्रका लागि आवेदन बुझाउन अनलाइन प्रक्रिया पूरा गरी प्रशासन कार्यालयमा आफैँ उपस्थित हुनुपर्नेछ। तर अनलाइनबाट फारम भर्न सर्वसाधारणलाई गाह्रो हुँदै आएको छ। परिचयपत्रका लागि आवेदन फाराम भर्दा १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकताको प्रमाणपत्र पाएका नागरिकले नामथर, जन्ममिति, लिङ्ग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नी नाम, बाजेको नाम उल्लेख गर्नुपर्छ। यस्तै फारममा औँलाछाप (१० वटा), आँखाको नानी, तस्वीर, राष्ट्रियता र हस्ताक्षर उपलब्ध गराउनुपर्छ।
सरकारबाट नेपाली नागरिकलाई प्रदान गर्ने सेवासुविधालाई राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध गर्नाका साथै सो प्रणालीबाट प्राप्त हुने तथ्याङ्क तथा अभिलेख नीति एवं योजना निर्माणमा प्रयोग हुनेछ। यसले व्यक्तिको राष्ट्रिय पहिचानपत्र र मतदाता परिचयपत्रका रुपमा काम गर्ने सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधार दिनेछ। सामाजिक सुरक्षा कार्डका रुपमा यही कार्ड प्रयोग हुनेछ। यसले सुरक्षा व्यवस्थापनका लागि सहयोगी अभिलेखको काम गर्नेछ।
अन्य सार्वजनिक सेवासँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आबद्ध गरेपछि सार्वजनिक सेवा प्रदायक निकायले झन्झटरहित, छोटो समय र कम लागतमा सेवा प्रदान गर्न सम्भव हुनेछ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्म, मृत्यु, बसाइँसराइ तथा अन्य कारणबाट व्यक्तिगत सूचनामा परिवर्तन भएमा सोहीअनुसारको अभिलेख व्यवस्थापन गर्ने प्रणालीको स्थापना तथा विकास गरेको छ।
राष्ट्रिय परिचयपत्र नम्बर र राष्ट्रिय परिचयपत्रलाई बहुउपयोगी प्रणालीका रुपमा सरकार र सरकारबीच (जिटुजी), सरकार र व्यवसायीबीच (जिटुबी) र सरकार र नागरिकबीच (जिटुसी) सेवा प्रदान गर्न उपयोग हुनेछ।