काठमाडौँ - भक्तपुरको चाँगुनारायण नगरपालिका–७ भङ्गेरीडाँडामा रग्बी अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण सुरु भएको छ।
गुरुयोजनाअनूसार रङ्गशाला निर्माण अघि बढाइएको जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष एवं चाँगुनारायण उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्रीभक्त कासिछ्वाले जानकारी दिए। रङ्गशाला बनाउन नगरपालिकाले जग्गा उपलब्ध गराएको हो। हाल जग्गा सम्याउने काम भइरहेको छ। “भक्तपुरलाई खेलकुदको हब बनाउने योजना छ”, उनले भने। नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले रङ्गशाला निर्माणका लागि सक्दो बजेट विनियोजन गरेको बताए। “बहुवर्षीय योजना भएकाले सङ्घ, प्रदेश र अन्तर्राष्ट्रिय दातृ निकायको समेत सहयोग लिइनेछ”, उनले भने। चालिस हजार दर्शक अटाउने क्षमताको उक्त रङ्गशालाको डिपिआर सम्पन्न भएको छ। नगरपालिकाले रु. ४० लाख विनियोजन गरेको छ। हाल बुट्यान हटाउने र मैदान सम्याउने काम भइरहेको छ।
खेलकुदको भवन निर्माणका लागि समेत चाँगुनारायण–५ बाँसघारीस्थित नगरकोट जाने मुख्य सडकमा पाँच रोपनी जग्गा उपलब्ध गराइने नगरपालिकाका प्रमुख मिश्रले जानकारी दिए। सो रङ्गशाला झण्डै १३५ रोपनी जग्गामा रु ५५ करोडको लागतमा निर्माण गर्न लागिएको हो।