वर्षा बाधक बन्दा नेपाल सेमिफाइनलबाटै बाहिरियो

काठमाडौँ - एसीसी महिला टी-२० च्याम्पियनसिपमा पहिलो सेमिफाइनलको खेल वर्षाले प्रभावित हुँदा नेपाल बाहिरिएको छ। यूएई फाइनलमा पुगेको छ।

मलेसियाको किनरारा मैदानमा पानी परेपछि नेपाल र यूएईबीचको खेल हुन सकेन। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको यूएईले नेपाललाई ८२ रनको लक्ष्य सामान्य लक्ष्य दिएको थियो। यूएई १९ ओभर ५ बलमा ८१ रनमा समेटिएको थियो।

यूएईकी वैष्णवी महेशले सर्वाधिक १६ रन बनाइन्। त्यस्तै इशा रोहितले १५ र कप्तान छाया मुघलले १४ रन जोडिन्। नेपालकी अश्मिना कर्माचार्यले ५ विकेट लिइन्। उनी प्लेयर अफ दि म्याच भइन्। यस्तै इन्दु बर्माले ३ र सीता रानामगरले २ विकेट लिएकी थिइन्। तर खेल रद्द भएपछि नेपाल बाहिरिएको हो। 

नेपाल समूह ‘बी’ को उपविजेता र यूएई समूह ‘ए’ को विजेता हो। नियमअनुसार यूएई समूह विजेता हुँदा फाइनलमा पुग्न सफल भएको हो। अर्को सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता मलेसिया र समूह ‘बी’ को विजेता हङकङबीचको खेल केहीबेरमा सुरु हुनेछ। फाइनल खेल भोलि हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×